काठमाडौँ– अर्थमन्त्री रामेश्वर खनालले अध्यादेशका आधारमा शासन चलाउनु लोकतन्त्रका लागि घातक हुने बताएका छन्।
विराटनगरमा आजबाट सुरु विराट ट्रेड एक्स्पो २०२५ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारसँग असीमित म्याण्डेट नभएकाले अध्यादेशको भरमा शासन चलाउने प्रवृत्ति लोकतन्त्रका लागि हितकर नहुने बताएका हुन्।
‘यो सरकारलाई असीमित म्याण्डेट छैन। कानुन संसद्को अनुपस्थितिमा बन्न सक्दैन र बनाउनु हुँदैन भन्ने मेरो लोकतान्त्रिक विश्वास हो,’ उनले भने, ‘मैले सधैँ भन्दै आएको छु अध्यादेशको आधारमा शासन चलाउनु हुँदैन, यसले लोकतन्त्रलाई बलियो बनाउँदैन र यो असल अभ्यास पनि होइन।’
सीमित म्याण्डेट र संस्थागत अभावका बाबजुद पनि निजी क्षेत्रको आशालाई सम्बोधन गर्न सरकारले प्रयास गरिरहेको उनले बताएका छन्।
निजी क्षेत्रले संकटका बेला देखाएको धैर्यता र पुनरुत्थान गर्ने क्षमताको प्रशंसा गर्दै उनले निजी क्षेत्र आफैँ जुर्मुराएर अघि बढ्न खोज्नु सुखद् पक्ष भएको बताएका छन्।