काठमाडौँ– आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपा पार्टीका प्रवक्ता एवं निवर्तमान सांसद ज्ञानेन्द्र शाहीलाई ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरिएका छन्।
राप्रपाका सम्बन्धित क्षेत्रीय कमिटीहरूले उनलाई सिफारिस सुचीमा समावेश गरेका हुन्।
जुम्ला जिल्लाबाट प्रत्यक्षतर्फ शाहीको नाम एकल सिफारिस भएको छ। शाहीले यसअघि पनि जुम्लाबाट अत्यधिक मतले जितेका थिए। जुम्लाका कार्यवाहक अध्यक्ष देवीकृष्ण न्यौपानेले राप्रपाको सचिवालयलाई पत्राचार गर्दै उम्मेदवार सिफारिस गरेका छन्। उनले समानुपातिकतर्फ १४ जनाको नाम पठाएका छन्।
ललितपुर १ को क्षेत्रीय कार्यसमितिले शाहीलाई प्रत्यक्षतर्फ पहिलो नम्बरमा राखेर सिफारिस केन्द्रमा पठाएको छ। शाहीबाहेक परशुराम सिलवाल र रविन घिमिरेलाई सिफारिस गरिएको छ। ललितपुर १ का राप्रपा अध्यक्ष विक्रम लामाले गरेको सिफारिसको बोधार्थ जिल्ला कार्यसमितिलाई पनि दिइएको थियो।
भक्तपुरबाट पनि शाहीको सिफारिस भएको जनाइएको छ। भक्तपुरका राप्रपा अध्यक्ष अर्जुन कार्कीले क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ शाहीलाई सिफारिस गरिएको जानकारी प्रेषित गरेका छन्।
सुर्खेत २ बाट पनि शाही पहिलो नम्बरमा सिफारिस भएका छन्। क्षेत्रीय अध्यक्ष कर्णबहादुर रेगामी मगरले जिल्ला कार्यसमिति सुर्खेतलाई पठाएको सिफारिसमा प्रत्यक्षतर्फ शाहीसहित ४ जनाको नाम छ।
रुपन्देही २ बाट गरिएको सिफारिसमा समेत शाही अटाएका छन्। क्षेत्रीय समितिका अध्यक्ष रामबहादुर थापाले जिल्ला कार्यसमितिलाई पठाएको पत्रमा प्रत्यक्षतर्फ सातौँ नम्बरमा शाहीको नाम समावेश छ।
कञ्चनपुर २ बाट पनि आफूलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको शाहीले जानकारी दिएका छन्।