कांग्रेसका ९ जिल्ला समितिले अपलोड गरेनन् सदस्यता नवीकरणको फाइल - Chaitanya News
  • 2026-04-28
  • 10:17:14
  • मंगलबार,बैशाख १५, २०८३
  • कांग्रेसका ९ जिल्ला समितिले अपलोड गरेनन् सदस्यता नवीकरणको फाइल

    कांग्रेसका ९ जिल्ला समितिले अपलोड गरेनन् सदस्यता नवीकरणको फाइल

    काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले आज (बुधबार) मध्यान्ह १२ बजेसम्म क्रियाशील सदस्यता नवीकरणको फाइल पठाइसक्न मातहतका समितिलाई भनेको थियो। सो अवधिमा फाइल नपठाए सर्भरमा इन्ट्री गर्नका लागि दिइएको ‘एक्सेस’ बन्द गर्ने समितिको भनाइ थियो।

    तर समितिको उक्त निर्देशनलाई ९ जिल्ला समितिले कार्यान्वयन गर्न सकेनन्। समितिको निर्देशन कार्यान्वयन गर्न नसक्नेमा कोशी प्रदेशका २, मधेस प्रदेशका ३, बागमती प्रदेशको एउटा, लुम्बिनी प्रदेशको एउटा र सुदूरपश्चिम प्रदेशका २ जिल्ला रहेका समिति सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।

    कोशीका संखुवासभा र खोटाङले नवीकरणको फाइल सर्भरमा अपलोड गरेका छैनन्। खोटाङमा सभापति विष्णुकुमार राई अनुशासनको कारबाहीमा परेकाले प्रक्रिया नै अगाडि बढेको छैन।

    मधेसमा धनुषा, महोत्तरी र बाराले नवीकरणको फाइल अपलोड गरेका छैनन्। बागमतीको दोलखा र लुम्बिनीको प्यूठान जिल्लाले अपलोड नगरेका चौधरीले जानकारी दिए। सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाले अपलोड गरेका छैनन्।

    यी बाहेक ५ जिल्लाले पनि सर्भरमा नवीकरणको तथ्यांक अपलोड गरेका छैनन्। तर उनीहरूले एक्सल फाइल भने इमेलमार्फत पठाइसकेको चौधरीले बताए। एक्सेल फाइलमा पठाउने जिल्लाहरूमा दाङ, तनहुँ, नवलपरासी पश्चिम, रुकुम पूर्व, बर्दिया र डोटी छन्।