राष्ट्रपति पौडेलले बोलाए एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा - Chaitanya News
  • 2026-04-28
  • 10:17:13
  • मंगलबार,बैशाख १५, २०८३
  • राष्ट्रपति पौडेलले बोलाए एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा

    राष्ट्रपति पौडेलले बोलाए एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभामा तीन ठुला दलका सभापति र प्रधानमन्त्री सुशीला कार्कीलाई एकैपटक छलफलमा बोलाएका छन्।

    राष्ट्रपतिको सचिवालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकैपटक छलफलमा बोलाएको जानकारी दिएको छ।

    मंगलबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा छलफलमा बोलाइएको हो। छलफलको एजेण्डाबारे राष्ट्रपतिले केही बताएका छैनन्।

    निकटस्थ स्रोतले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी कानुन संशोधनको विषयमा छलफल गर्न मुख्य दलका प्रमुख र प्रधानमन्त्रीलाई एकै ठाउँमा राखेर छलफल गर्न लागेको जानकारी दिएको छ।

    कांग्रेस र एमालेका बहुमत निवर्तमान सांसद प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट लिएर गएको बेलामा प्रधानमन्त्रीसहित ती दलका शीर्ष नेतालाई राष्ट्रपतिले एकै ठाउँमा राखेर छलफल गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
    प्रधानमन्त्रीको सचिवालयले राष्ट्रपतिले छलफलमा बोलाएको पुष्टि गर्‍यो।