सुदूरपश्चिम महोत्सवः व्यापार प्रवर्द्धनको खुला मञ्च - Chaitanya News
  • 2026-04-30
  • 14:05:36
  • बिहिबार,बैशाख १७, २०८३
  • सुदूरपश्चिम महोत्सवः व्यापार प्रवर्द्धनको खुला मञ्च

    सुदूरपश्चिम महोत्सवः व्यापार प्रवर्द्धनको खुला मञ्च

    शान्ति प्रसाद जोशी, धनगढी – सुदूरपश्चिम प्रदेशको आर्थिक, सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनमा निरन्तर योगदान दिँदै आएको सुदूरपश्चिम महोत्सवले धनगढी बजारलाई थप चलायमान बनाएको छ। १९ औ सस्करणको महोत्सव सुरु भएसँगै धनगढी मात्र नभई आसपासका क्षेत्रहरूमा समेत व्यापार–व्यवसायमा उल्लेख्य चहलपहल बढेको व्यवसायीहरूले बताएका छन्।

    महोत्सव स्थलमा राखिएका विभिन्न व्यापारिक स्टलहरूमा स्थानीय उत्पादन, हस्तकला, कृषि उपज, घरेलु सामग्री तथा स्वादिला खाना–पानका परिकारहरू उपलब्ध छन्, जसले उपभोक्ताको आकर्षण बढाएको छ। साथै, सांस्कृतिक प्रस्तुति, संगीत तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमले दर्शकलाई महोत्सवतर्फ तान्न सफल भएको छ ।

    दैनिक हजारौँ दर्शकको सहभागिताले होटल, यातायात, खुद्रा पसल, सेवा व्यवसाय तथा रोजगारीका अवसरमा समेत सकारात्मक प्रभाव परेको छ। महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुका साथै समग्र धनगढी बजारको आर्थिक गतिविधि बढाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

    महत्सवमा स्टल राखेका दार्चुला नौगाडका रुकुम सिंह धामी बिगत तिन वर्ष देखी स्थानिय उत्पादन बिक्री बितरण गर्दै आएका छन् । महोत्सव आयोजना हुँदा उनकालागि महोत्सव दसै जस्तै लाग्छ उनले अल्लोबाट बनेका कोट पाइन्ट लगायतका सामान सँगै स्थानिय दाल तरकारी र खानाका परिकार समेत स्टलमा राखेका छन् । उनले महोत्सवमा स्टल राखे देखी हरेक वर्ष स्थानिय परिकारमा प्रथम हुँदै आएका छन् । उनका बिचारमा यस्ता मेला मोहत्सव समय समयमा आयोजना हुन जरुरी रहेको र यस्ता महोत्सवले स्थानिय स्तरमा रहेका परिकारहरुकोसमेत प्रचार प्रचार हुने समेत उनको बुझाई रहेको छ ।

    त्यस्तै मेला मोहत्सवहरुले गर्दा स्थानिय उत्पादनको सहज रुपमा प्रदर्शन हुने र आफूले खोजेका सबै सामानहरू एउटै ठाउँमा पाइदाखेरि खरिद गर्ने ग्राहकहरूलाई समेत सजिलो भएको महोत्सव अवलोकनकर्ता महेन्द्रपन्तको भनाइ रहेको छ। महोत्सव भनेको एउटा चाड जस्तै भएको र यसले विभिन्न प्रस्तुतिहरूसँगै स्थानीय स्तरमा रहेको व्यापार व्यवसायको समेत उत्थान गर्ने उनको भनाइ रहेको छ । यसरी मेला महोत्सव आयोजना हुन्थेन भने कुनै एउटा सामग्री एउटा पसलबाट मात्रै उपलब्ध हुने भएकाले अहिले महोत्सवले ती सबै सामग्रीहरू एउटै ठाउँमा पुगेको समेत उनी बताउँछन्।

    महोत्सवमा केही स्टलहरूभने सेवामूलक समेत राखिएका छन्। जसबाट विभिन्न कुराको जानकारी गराउनेसँगै केही सेवाहरू समेत प्रवाह भइरहेका छन्। त्यस्तै स्टलहरूमध्ये चैतन्य पाठशालाले निःशुल्क चिट्टा कार्यक्रम आयोजना गरेको छ। जसमा महोत्सवमा सहभागीहरूले निःशुल्क रुपमा चिट्टा लिएर चिट्टामा आएअनुसारको सामग्री प्रदान गरिरहेको चैतन्य पाठशालाका शिक्षक इन्द्रमणि अवस्थितले बताए ।
    त्यस्तै महिला स्वरोजगार समन्धी राखिएको स्टलमा महिलाहरूलाई रोजगारी सम्बन्धीका विभिन्न जानकारी गराउने उद्देश्यका साथ स्टल स्थापना गरिएको गङ्गा सापकोटा रावतको भनाइ रहेको छ।

    त्यस्तै सोही महोत्सवमा स्टल रहेकी ममता खड्काको अनुभवमा मेला महोत्सवहरूले पसलमा बसिरहने समयमा रमाइलोका साथै व्यापारमा पनि वृद्धि गर्दै आएको छ । जसले गर्दा आफूसँग भएको सामानहरूको प्रदर्शन प्रचारसँगै महोत्सवले सकारात्मक माहोल सिर्जना गरेको उनको भनाइ रहेको छ।

    त्यस्तै धनगढी गोलमार्केटमा रहेको न्यू बिएम फुटवेयरले आफ्नो व्यापार व्यवसायसँगै महोत्सवमा आउने ८० वर्षभन्दा माथिका वृद्धवृद्धाहरूलाई निःशुल्क रुपमा जुत्ता वितरण गरिरहेको समेत जगतसिंह खत्रीले बताएका छन्। महोत्सवको यो समय भनेको चिसो सुरु हुने समय भएका कारणले आर्थिक अवस्था कमजोर भएका वृद्धवृद्धाहरूलाई निःशुल्क रुपमा जुत्ता प्रदान गरिरहेको उनले बताएका छन्। उनका अनुसार महोत्सवले आर्थिक समृद्धिसँगै स्थानीय स्तरमा व्यापारको प्रवद्र्धन गर्ने भएका कारणले यस्ता महोत्सव दुई तीन महिनाको अन्तरालमा आयोजना भएमा अझ सजिलो हुने समेत बताएका छन्।

    त्यस्तै घोडाघोडी नगरपालिकाबाट महोत्सवमा स्टल लिएका नरेन्द्र न्यौपानेका अनुसार महोत्सवले भेटघाटको अवसरदेखि लिएर व्यापारको समेत उत्कृष्ट अवसर प्रदान गर्ने गरेको छ । सुदूरपश्चिम महोत्सवले धनगढीको बजार मात्रै नभएर नेपालकै व्यापार क्षेत्रमा फरक माहोल छाउने उनको भनाइ रहेको छ। आयोजक उद्योग वाणिज्य सङ्घ कैलालीले महोत्सवमा सहभागी हुने व्यापारीहरूलाई केही छुटमा स्थल प्रदान गर्न सकेमा अझ सहजता हुने समेत उनी बताउँछन्।

    आर्थिक समृद्धि र बजार चलामा चलायमान बनाउन यस्ता मेला महोत्सवहरू बेलाबेलामा आयोजना हुनुपर्ने देखिन्छ । धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवले सुदूरपश्चिमकै प्रतिनिधित्व गर्दै व्यापार व्यवसायमा फरक चहलपहल ल्याउने गरेको पाइन्छ। १९औ संस्करणसम्म पुग्दा यो महोत्सवले विभिन्न सुदूरपश्चिमका विकासका योजनाहरू समेत सरकार समस्या प्रस्तुत गर्ने र स्थानीय व्यापारमा फरकपन ल्याउने प्रयास गरिरहेको छ । अबको २०औँ संस्करणमा महोत्सवलाई राष्ट्रिय स्तरमा आयोजना गरिने समेत योजना रहेको उद्योग वाणिज्य सङ्घ कैलालीले जनाएको छ ।