जेनजी आन्दोलनः जाँचबुझ आयोगको म्याद एक महिना थप्न आग्रह,अर्को साता ओली–लेखकको बयान लिइने - Chaitanya News
  • 2026-04-28
  • 16:24:14
  • मंगलबार,बैशाख १५, २०८३
  • जेनजी आन्दोलनः जाँचबुझ आयोगको म्याद एक महिना थप्न आग्रह,अर्को साता ओली–लेखकको बयान लिइने

    जेनजी आन्दोलनः जाँचबुझ आयोगको म्याद एक महिना थप्न आग्रह,अर्को साता ओली–लेखकको बयान लिइने

    काठमाडौँ– गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ।

    आज (बुधबार) आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दै जाँचबुझ आयोगको म्याद थप गर्न आग्रह गरेका हुन्।

    पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित जाँचबुझ आयोगको म्याद सकिन लाग्दा बयान लिने क्रम नै जारी रहेको भन्दै म्याद थप गर्न आग्रह गरिएको हो।

    जाँचबुझ आयोगका अध्यक्ष कार्कीले आयोगलाई काम गर्न केहि समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको जानकारी दिए।

    जवाफमा प्रधानमन्त्री कार्कीले समय थप गर्ने जानकारी गराएको उनले बताए। त्यस्तै कार्कीले अर्को साता पूर्वप्रधानमन्त्री (केपी शर्मा ओली) र पूर्वगृहमन्त्री (रमेश लेखक) लगायत राजनीतिक दलका नेताहरूलाई बयानमा बोलाउने तयारी भएको उल्लेख गरे।

    जाँचबुझ आयोगले जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ।

    असोज ५ गते तीन महिनाको म्यादसहित गठन भएको आयोगले असोज ९ गतेदेखि कार्यप्रारम्भ गरेको थियो। आयोगको म्याद यही पुस ९ गते सकिँदै छ।