एमाले ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु - Chaitanya News
  • 2026-05-07
  • 20:38:07
  • बिहिबार,बैशाख २४, २०८३
  • एमाले ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु

    एमाले ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु

    काठमाडौँ– नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र इश्वर पोखरेलले पहिलो मतदान गर्दै मतदान प्रक्रिया सुरु भएको हो।

    बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान डेढ घण्टा ढिलो गरी सुरु भएको हो। मतदानका लागि नेता कार्यकर्ताको लामो लाइन लागेको छ।

    यसअघि मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण आज मात्र मतदान भएको हो। मङ्गलवार साँझ मतदाताहरू मतदान हुने आशामा लाइनमै बसे पनि राति ८ बजे भोलि मतदान हुने भन्दै फर्काइएको थियो।

    देशभरबाट आएका २ हजार २६३ जना प्रतिनिधिले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका पदहरूका लागि मत हाल्नेछन् । अध्यक्ष पदमा वर्तमान अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबिच प्रतिस्पर्धा हुनेछ। दुवै पक्षले आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएकाले मतदान स्थल वरपर समर्थकहरूको नारा र भोट माग्ने क्रियाकलापले चुनावी माहौल तातेको छ।

    मतदान सकिएलगत्तै मतगणना सुरु हुने र परिणाम छिट्टै सार्वजनिक हुने पार्टी बताइएको छ। महाधिवेशनले पार्टीको सङ्गठन सुदृढीकरण र भावी रणनीतिलाई केन्द्रमा राखेर नयाँ नेतृत्व चयन गर्दैछ।