काठमाडौँ– नेकपा एमालेका नेता गोकर्ण विष्टले जारी ११औं महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुने विश्वास राखेको बताएका छन्।
आज (मंगलबार) भृकुटीमण्डपमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यसपटक पुस्तान्तरण र नेतृत्व हस्तान्तरण हुने विश्वास रहेको बताएका हुन्।
यस्तै उनले भने ‘हामी सामूहिकतामा विश्वास गर्छौँ, पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्छ भन्नेमा विश्वास गर्छौँ,’ ‘यसपटक यो हुन्छ भन्ने विश्वास छ।’
यसैगरी, उनले पार्टीमा नेतृत्वको कार्यकाल दुई पटकमात्रै हुनुपर्छ भन्ने विश्वास रहेको र यसपटक उल्टिएकोमा दुखेसो पोखे।
‘नेतृत्वको कार्यकाल दुई कार्यकालमात्र हुनुपर्छ भन्ने कुरामा हामी विश्वास गर्छौँ, यद्यपि त्यो अहिले उल्टियो,’ उनले थपे, ‘सबै महाधिवेशनन प्रतिनिधिले जिम्मेवार ढङ्गले मत जाहेर गर्नुहुन्छ, महाधिवेशन प्रतिनिधिले कार्यकर्ता र जनताको भावना बुझेर मतदान गर्नुहुन्छ, पुस्तान्तरण र हस्तान्तरण गर्न लाग्नुहुन्छ भन्नेमा विश्वास छ।’
महाधिवेशन स्थलमा अहिले उम्मेदवारहरूले आफ्नो प्रचारप्रचार गरिरहेका छन्। त्यस्तै अध्यक्ष केपी शर्मा ओली समर्थकहरूले होहल्ला पनि गरेका छन्।
होहल्ला गरेकोप्रति विष्टले भने, ‘हामीले धेरै हल्ला गर्ने कुरामा जोड दिनेछैन। प्रतिनिधिहरु जिम्मेवार हुनुहुन्छ। उहाँहरूलाई बाह्य हल्लाले फरक पर्दैन।’