काठमाडौं– नेकपा (एमाले) अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार तोकिएको छ। भोलि (मंगलबार) हुने मतदानका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।
निर्वाचन प्रक्रिया सुरु भएसँगै उम्मेदवारी शुल्क तोकिएको हो। पदाधिकारीहरु र केन्द्रीय आयोगका अध्यक्षका लागि १० हजार तोकिएको छ। केन्द्रीय सदस्यहरु र आयोगका पदाधिकारीका लागि ५ हजार शुल्क तोकिएको छ।
नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल प्रतिस्पर्धामा छन्।
ओली र पोख्रेल दुवै प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्। दुवैले उपाध्यक्ष, उपमहासचिव र सचिवका उम्मेदवार टुंगो लगाएका छन्।
एमालेले आगामी कार्यकालका लागि १९ जना पदाधिकारीको व्यवस्था गरेको छ। पदाधिकारी सबै पदमा निर्वाचन हुने पक्का भएको छ।
मतदान पुस १ गते मंगलबार बिहान ११ देखि साँझ ६ बजेसम्म गर्ने कार्यतालिका छ।