मन्त्री बनाउन यो सरकार भ्रष्टहरू खोज्दै हिँडेको छ : रामहरि खतिवडा - Chaitanya News
  • 2026-05-07
  • 21:31:11
  • बिहिबार,बैशाख २४, २०८३
  • मन्त्री बनाउन यो सरकार भ्रष्टहरू खोज्दै हिँडेको छ : रामहरि खतिवडा

    मन्त्री बनाउन यो सरकार भ्रष्टहरू खोज्दै हिँडेको छ : रामहरि खतिवडा

    काठमाडौँ– नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले सरकार निर्वाचन गराउनेतिर नभई मन्त्रीमण्डल विस्तारमा केन्द्रित भएको आरोप लगाएका छन्।

    आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारको ध्यान निर्वाचन गराउनेतिर नभएको आरोप लगाएका हुन्।

    सरकारले मन्त्री बनाउन भ्रष्ट्रहरू खोजेर हिँडेको उनको आरोप छ। छानी छानी भ्रष्टहरूलाई मात्रै मन्त्री बनाएको उनको दाबी छ।

    उनले वर्तमान सरकारमा केही मन्त्रीहरू भने काम गर्नेजस्ता देखिएको भए पनि सरकारको मुख्य काम निर्वाचनतर्फ भने कोही केन्द्रित नभएको टिप्पणी गरेका छन्।

    उनले भने, ‘सरकार चुनाव गराउने बाटोमा छैन। मन्त्रीमण्डल विस्तारमा केन्द्रित छ। ती पनि भ्रष्ट जो(जो छन्, तिनीहरूलाई मात्रै खोज्दै हिँडेको छ। भर्खरै मैले सुन्दै थिएँ, अब विवादित मान्छेहरू आएका छन्। केही मान्छेहरू काम गर्नेजस्ता पनि देखिएका छन्। तर पनि सरकार अहिले चुनाव गराउने अवस्थामा गएको छैन। हामी आफ्नो महाधिवेशनसहित चुनावको तयारीमा तीव्र गतिमा लागेका छौँ।’

    उनले काँग्रेसले आम निर्वाचनसँगै महाधिवेशनको समेत तयारी गरिरहेको बताए। महाधिवेशनका लागि हाल क्रियाशील सदस्य नवीकरण र वितरणको काम भइरहेको उनको भनाइ छ।