काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरहरूमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने बताएकी छन्।
आज (आइतबार) आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
प्रधानमन्त्री कार्कीले जेन जेड आन्दोलनमा युवाहरूले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको स्मरण गराउँदै सोही मुद्दा सम्बोधन हुने गरी काम गर्न आवश्यक रहेको बताइन्।
उनले समावेशी विकास र समान न्यायको आकांक्षा जेन जेडहरूको अभिव्यक्ति भएको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्न सके देशमा दिगो विकास हुने र त्यसले राष्ट्रलाई बलियो बनाउने समेत बताइन्।
‘२३ र २४ भदौको जेन जेड आन्दोलनको क्रममा युवाहरूले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको यहाँहरू सबैलाई विदितै छ। राजनीतिक र आर्थिक अवसरहरूमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने जेनजीको माग पनि समावेशी विकास र मान न्यायको आकांक्षाको अभिव्यक्ति हो। सबै वर्ग र समुदायको समान पहुँच र सहभागितामा भएको विकास नै दिगो बन्न सक्दछ। यसले राष्ट्रलाई बलियो बनाउँदछ। यस दिशामा प्रतिष्ठानले थप प्रभावकारी भूमिका खेल्न सकोस्,’ उनले भनिन्।
प्रधानमन्त्री कार्कीले सबै जाति, भाषा र संस्कृतिका समुदायको हित हुने गरी अघि बढ्न पनि सम्बन्धित पक्षलाई सचेत गराइन्।