काठमाडौँ– प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले राजनीतिक आन्दोलनमा प्रहरी सधैँ तारोमा पर्ने गरेको बताएका छन्। उनले प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाउने गरिएको गुनासो समेत गरेका हुन्।
जेन जेड आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवन आज उद्घाटन गर्दै कार्कीले सो गुनासो गरेका हुन्।
विगतका राजनीतिक आन्दोलनमा जस्तै यस वर्ष पनि प्रहरीलाई नै तारो बनाइएको बताउँदै उनले भने, ‘मूलभूत रूपमा नेपाल प्रहरीका थुप्रै संरचनाहरू आन्दोलनको क्रममा यसपाला पनि ध्वस्त भए। यसभन्दा पहिला पहिलाका आन्दोलनमा पनि नेपालको इतिहासमा थुप्रैचोटि भएका राजनीतिक र अन्य किसिमका आन्दोलनमा प्रहरी मात्रै तारोको रूपमा पर्छ।’
‘यसलाई चाहिँ चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो पनि बनाउने, त्यस्तो पनि हुन्छ,’ उनले थपे।
उनले यस्ता प्रवृत्तिलाई रोक्न र शान्ति सुव्यवस्था कायम राख्न नागरिक र प्रहरीको साझेदारी आवश्यक रहेकोमा जोड दिएका छन्। त्यसतर्फ ध्यान दिन उनले सबै प्रहरी तथा कर्मचारीहरूलाई निर्देशनसमेत दिए।
‘नागरिक र प्रहरीको साझेदारीपूर्ण सहभागिताले मात्रै मुलुकभरीमा शान्ति सुव्यवस्था कायम हुने यो शाश्वत कुरा भएको हुनाले नागरिक र प्रहरीको सामिप्यतापूर्ण सम्बन्ध निरन्तर कायम राख्दै काम गर्न म हाम्रा सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई निर्देशन दिन्छु,’ आइजिपी कार्कीले भने।