सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्मचारीमा जनसेवाको भावना भन्दा समय कटाउने प्रवृत्ति बढेको बताएका छन् । आज (बुधबार) प्रदेश योजना आयोगद्वारा वीरेन्द्रनगरमा आयोजित ‘कर्णालीको विकासमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । यस्तै उनले प्रदेश सरकारले नागरिकको अपेक्षा र आवश्यकता अनुसार काम गर्न नसकेको स्वीकार गरेका छन्।
कँडेलले अन्य प्रदेशको तुलनामा कर्णालीको अवस्था कमजोर रहेको र काम गर्ने पुरानै मानसिकताका कारण जनतामा निराशा छाएको बताए। उनले भने, ‘सरकार घोषणा हुँदैमा र मन्त्रीको गाडी गुड्दैमा मात्र कर्णालीको भलो हुँदैन। नतिजा देखिने गरी काम हुन नसक्दा निराशाजनक अवस्था छ।’
विकास र प्रशासन सञ्चालनमा पुरानै संरचना र मानसिकता हाबी भएको उनको गुनासो छ। ‘सङ्घीयता कार्यान्वयनमा आए पनि प्रशासनिक संरचना र जनशक्ति व्यवस्थापन केन्द्रीकृत नै छ,’ उनले भने, ‘हामीसँग आवश्यक तहको जनशक्ति छैन, आएका जनशक्तिलाई पनि पूर्ण अधिकार र मान्यता दिइएको छैन।’
मुख्यमन्त्रीले कर्मचारीतन्त्रको कार्यशैलीप्रति तीखो असन्तुष्टि व्यक्त गरे। कर्मचारीमा जनसेवाको भावना भन्दा पनि समय कटाउने, जोखिम नमोल्ने र निर्णय प्रक्रिया पन्छाउने प्रवृत्ति देखिएको उनले बताए।
‘यहाँ ६ महिना वा दुई वर्ष बस्दा आफ्नो कार्यक्षमता देखाएर सेवामा समर्पित हुने मानसिकता मैले देखिनँ’ उनले भने ।
यसैगरी कानुनी जटिलताले पनि कार्यसम्पादनमा असर पुर्याएको उनको भनाइ छ। संविधान बनेको लामो समय बितिसक्दा पनि नयाँ कानुन नबन्नु र २०१३ देखि २०२९ सालसम्मका पुराना ऐनहरूबाट निर्देशित हुनुपर्ने बाध्यताले नयाँ संरचना अनुसारको काममा बाधा पुगेको उनले उल्लेख गरे।
साथै, योजना छनोट प्रक्रियामा विज्ञता भन्दा राजनीतिक पहुँच र दबाब हाबी हुँदा स्रोत साधन छरिएको र प्रतिफल आउन नसकेको उनले औँल्याए।
मुख्यमन्त्री कँडेलले प्राप्त बजेट नै खर्च गर्न नसक्ने अवस्थामा थप स्रोत माग्नुको औचित्य नहुने भन्दै खर्च गर्ने क्षमता बढाउनुपर्नेमा जोड दिए। तमाम चुनौतीका बिच पनि सरकारका कामलाई नतिजामुखी बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उनले बताए।