काठमाडौं– जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई प्रहरी संगठनका प्रमुखहरुसँग बयान लिने तयारी गरेको छ।
आयोगसम्वद्ध स्रोतका अनुसार, मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग बयान लिँदैछ। त्यसलगत्तै नेपाल प्रहरीका आईजी दानबहादुर कार्कीलाई बोलाउने तयारी छ। अर्याल जेनजी आन्दोलनको बेलामा पनि सशस्त्र प्रहरी बलको नेतृत्वमा थिए।
कार्की भने जेनजी आन्दोलनको अघिल्लो दिन प्रहरी परिचालनको प्रत्यक्ष भूमिकामा थिएनन्। २३ गते बेलुकी मन्त्रिपरिषदको निर्णयपछि भोलिपल्ट अर्थात भदौ २४ गते बिहानदेखि उनले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए।
जाँचबुझ आयोगले कार्कीलाई प्रहरी महानिरीक्षकको हैसियतमा नभई तत्कालीन एआईजीको भूमिका र जिम्मेवारीको हैसियतमा बयान लिने तयारी गरेको हो।
‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको बहालवाला नेतृत्वसँग हामीले बयान लिइसकेका छैनौँ, अब बल्ल थाल्ने हो’ आयोगसम्वद्ध स्रोतले भन्यो, ‘त्यसलगत्तै तत्कालीन गृहसचिव, गृहमन्त्री र प्रधानमन्त्रीको पालो आउनेछ।’
अघिल्लो सातादेखि शुरु भएको काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको बयान भने सकिएको छ । तत्काली प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले पनि बयान दिइसकेका छन्।
पुगनपुग एक सातामात्रै अवधि बाँकी रहँदा आयोगले बयानको काम सकेको छैन। थप विवरण संकलन र प्रतिवेदन लेखनका कामहरु बाँकी भएकाले आयोगको समयावधि थप्नुपर्ने निश्चितजस्तै भइसकेको आयोगसम्वद्ध स्रोतले बतायो।