काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुँदै छ। बन्द सत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ।
महाधिवेशनमा आयोजक र निर्वाचित गरी दुई हजार चार सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन्।
एमालेमा ७७ जिल्ला र ७ विशेष जिल्ला गरी कूल ८१ वटा जिल्ला कमिटी छन्। संगठित सदस्यको अनुपातका आधारमा प्रतिनिधि संख्या यकिन गर्दै छनोट गरिएको छ।
एमालेले प्रतिनिधि सभा अन्तर्गतको निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि चयन गरेको छ।
२९ सदस्यीय अनुशासन आयोग, ३० सदस्यीय केन्द्रीय लेखा आयोग, २५ सदस्यीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद् २५ सदस्यीय छ।
केन्द्रीय कमिटी, आयोग तथा निकायका पदाधिकारी एवम् सदस्य भने स्वतः प्रतिनिधि भएका छन्। बाँकी प्रतिनिधि भने चुनावी विधिबाटै छानिएर, चुनिएर आएका हुन्।
प्रदेश स्तरीय कमिटीबाट दुई जना महिला सदस्यसहित पाँच जनाका दरले ४५ जना चुनिएका छन्।
प्रतिनिधि सभा निर्वाचन क्षेत्रको हकमा १२ सय पार्टी सदस्य बराबर ४० वर्षमुनिका एक युवा, कम्तीमा एक जना महिलासहित ४ जना प्रतिनिधि निर्वाचित भएका छन्।
महाधिवेशनमा स्वयंसेवक भने १० हजार परिचालित हुँदै छन्। स्वयंसेवक पार्टीका विभिन्न २४ जनसंगठन र विभिन्न कमिटीबाट तयार पारिएको छ। राष्ट्रिय स्वयंसेवक फोर्स ९एनभिएफ०ले पनि स्वयंसेवाको काम गर्नेछ।
एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा महाधिवेशनको जनपरिचालन समिति गठन गरिएको छ। उक्त समितिमा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य विनोद श्रेष्ठ, भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा लगायत रहेका छन्।
सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफलमा फैलिएको खुल्ला चौरमा करिब दुई लाख जनसहभागिताको क्षमता छ। उक्त चौरमा मञ्च व्यवस्थापन, शौचालयलगायत आवश्यक पूर्वाधार निर्माणका लागि स्वयंसेवक खटिएका छन्।
उद्घाटनका दिन पूर्वबाट आउने सवारी साधनलाई जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमबाट आउने सवारीसाधनलाई गठ्ठाघरबाट कमेरोटार क्षेत्रमा व्यवस्थापन गर्ने गरी व्यवस्थापन गरिँदै छ।