काठमाडौँ– नेपाली सेनाका बालाध्यक्ष रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्र संघको अबेईका लागि फोर्स कमान्डरको जिम्मेवारी दिइएको छ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले श्रेष्ठलाई नयाँ फोर्स कमान्डरको रूपमा नियुक्त गरेका हुन्।
घानाका मेजर जनरल रोबर्ट याव अफ्रामको कार्यकाल सकिएपछि गुटरेसले श्रेष्ठलाई नयाँ फोर्स कमान्डरको जिम्मेवारी दिएका हुन्।
श्रेष्ठले नेपाली सेनामा नेतृत्वदायी पदहरूमा बसेर काम गरेका छन्। नेपाली सेनामा ३६ वर्षदेखि सेवा गर्दै आएका श्रेष्ठ दक्षिण सुडानमा सेक्टर पूर्वका लागि सेक्टर कमान्डर भएर समेत काम गरिरहेका छन्। उनले सुदूरपश्चिम पृतनापति, रम्भार रथी भएर पनि काम गरेका छन्।
वीरेन्द्र सैनिक अस्पतालको प्रशासनिक रजिस्ट्रार, नेपाली सेना मुख्यालयमा नीति तथा योजना निर्देशक भएर काम गरिसकेका छन्।
श्रेष्ठले चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयको इन्टरनेशनल कलेज अफ डिफेन्स स्टडीजबाट सैन्य विज्ञान र रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका छन्।
उनले त्रिभुवन विश्वविद्यालय, काठमाडौँबाट अर्थशास्त्रमा स्नातकोत्तर र मानविकी तथा सामाजिक विज्ञानमा स्नातक डिग्री पनि हासिल गरेका छन्।
२५ असोजदेखि बलाधिकृत रथी निर्मल कुमार थापा अवकाशमा गएका थिए। रथीको ५८ वर्षे उमेर हदका कारण थापा अवकाश भएपछि श्रेष्ठ रथीमा बढुवा भएका थिए। थापा पनि लामो समय युएनकै फोर्स कमान्डर थिए। श्रेष्ठ यूएनको फोर्स कमान्डर बन्ने ८ औँ नेपाली सैनिक हुन्।