एनपिएल:चितवनले टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै - Chaitanya News
  • 2026-04-29
  • 00:09:54
  • मंगलबार,बैशाख १५, २०८३
  • एनपिएल:चितवनले टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै

    एनपिएल:चितवनले टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै

    काठमाडौं– त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्दैछ।

    पहिले ब्याटिङ रोजेको चितवनले आजको खेलका लागि दुई परिवर्तन गरेको छ। दीपक बोहरा र रिजन ढकालको स्थानमा अमरसिंह राउटेला र आइकोनिक खेलाडी सौगात ढकाल खेल्दै छन्।

    चितवन राइनोज भने विदेशी खेलाडीमा बढी डिपेन्डेन्ट देखिएको छ। पहिलो खेल जितेपछि दोस्रो खेल हारेको चितवन तेस्रो खेलमा विजयी भएर चौथो खेलमा फेरि पराजित भएको थियो।

    जनकपुरले पनि आजको खेलका लागि दुई परिवर्तन गरेको छ। ललित राजवंशी र किशोर महतोको स्थानमा अनिल साह र सचिन भट्ट टोलीमा आएका छन्।

    जनकपुरले अघिल्लो खेलमा कप्तान अनिल साहलाई नै बेन्चमा राखेर दक्षिण अफ्रिकी खेलाडी वायन पार्नेललाई कप्तानी दिएको थियो। तर, नतिजा भने परिवर्तन गर्न सकेको थिएन।

    जनकपुरले काठमान्डु गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेको छ। यो खेल जितेर जनकुर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ।

    चितवनले कर्णाली याक्सलाई पहिलो खेलमा हराएपछि लुम्बिनी लायन्ससँग पराजित भएको थियो भने त्यसपछि विराटनगरलाई हराउँदा काठमान्डु गोर्खाजसँग पराजित भयो। चितवनले यसपछि सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ।

    अर्कोतर्फ ४ खेलमा २ जितसहित ४ अंक जोडेको चितवन आजको खेल जितेमा प्लेअफ पुग्नका लागि सहज अवस्थामा रहनेछ। चितवन पराजित भएमा बाँकी दुवै खेल जितेर अर्को नतिजा हेर्नुपर्ने वा नेटरनरेटको सवाल आउन सक्छ।

    जनकपुरका लागि यस खेल निकै महत्वपूर्ण छ। सुरुवाती ४ खेलमा लगातार हार बेहोरेको जनकपुरले अब बाँकी ३ वटै खेल जितेर पनि अन्य नतिजामा भर पर्नुपर्ने अवस्था छ। आज पराजित भएमा बाहिरिनेछ।