काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले हाल देशभर ४ हजार ५ सय ५२ कैदी बन्दी फरार रहेको बताएका छन्।
आज (मंगलबार) गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा धनगढीमा सुरु सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै अर्यालले यस्तो बताएका हुन्।
उनले कैदी बन्दी अझै फरार रहेको तीमध्ये कर्तव्य ज्यान र जघन्य अपराधका धेरै न्यून रहेको समेत बताए।
कुल ७२७ हातहतियार सरकारले फिर्ता ल्याइसकेको पनि मन्त्री अर्यालको भनाइ छ। सरकारको मुख्य कार्यभार घोषित मितिमै भयरहित, स्वच्छ, स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्ने रहेको भन्दै उनले भने, ‘केही थान हतियार र फरार कैदी बन्दी बाहिरै रहेको अवस्थामा निर्वाचन हुन्न कि भन्ने शंका र भ्रम नछर्नुहोला’।
कुशासन र बेथितिविरुद्ध जेन जेड युवाहरूले उठाएका माग र भदौ २३ र २४ को घटनापश्चात् सरकार र गृह प्रशासनले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाहको प्रभाकारिता र समन्वयात्मक कार्यमा निष्ठापूर्वक कार्य गरिरहेको उनको भनाइ छ।