विराटनगर– कोशी प्रदेश सरकार मुख्यमन्त्री कार्यालयले विभागीय मन्त्रालयले गरेको सिफारिस दुई महिनासम्म कुराएर त्यही पारित गरेको पाइएको छ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका तत्कालीन सचिव अशोककुमार साहले साउन अन्तिममा १४ जिल्लाकै पूर्वाधार विकास कार्यालय र एक निर्देशनालयका प्रमुखहरूको सरुवाका लागि मुख्यमन्त्री कार्यालयमा सिफारिस गरेका थिए। उक्त सिफारिस मुख्यमन्त्री कार्यालयले भने ‘होल्ड’ गरेको थियो।
साउन २६ गते नै सरुवा भएका मन्त्रालयका सचिव साहको ठाउँमा आएका सहसचिव मिलन आचार्यलाई पनि दुई महिनापछि पुनः त्यही मन्त्रालयको सचिवमा खटाइएको छ। दुई महिनासम्म सो मन्त्रालय निमित्त सचिवको रूपमा सिनियर डिभिजिनल इन्जिनियर रमेश कुमार श्रेष्ठले काम गरेका थिए।
स्रोतका अनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग पूर्वाधार मन्त्री भुपेन्द्र राईले आफ्नो मन्त्रालयले गरेको सिफारिस कार्यान्वयन गरे मात्रै आफूले मन्त्रालयमा सचिवको रूपमा आचार्यलाई हाजिर गराउने अडान राखेका थिए। सोही विवाद मिल्न नसक्दा लामो समयसम्म सहसचिव आचार्यले मुख्यमन्त्री कार्यालयमा हाजिर गरेर बिताउनुपरेको थियो। यस्तै कार्यालय प्रमुखको रूपमा सिफारिस गरिएकाहरूमा पनि अन्योल छाएको थियो।
मुख्यमन्त्री कार्की र मन्त्री राईबिच सहमति भएसँगै असोज २८ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट आचार्यलाई पूर्वाधार विकास मन्त्रालयको सचिवमा र १४ जिल्लाका पूर्वाधार कार्यालय र एक निर्देशनालयमा कार्यालय प्रमुख पठाउने निर्णय गरेको हो।
जसअनुसार पूर्वाधार विकास मन्त्रालयमा कार्यरत सीडीई विनम दाहाललाई पूर्वाधार विकास कार्यालय, खोटाङ र पूर्वाधार विकास कार्यालय, ओखलढुङ्गाका प्रमुख सीडीई गङ्गासागर यादवलाई पूर्वाधार विकास कार्यालय उदयपुर लगिएको छ।
यस्तै पूर्वाधार विकास कार्यालय धनकुटाका प्रमुख खरानन्द इसरलाई पूर्वाधार विकास कार्यालय मोरङ ल्याइएको छ। यसअघि पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख रहेका सुशील श्रेष्ठलाई पूर्वाधार विकास निर्देशनालय इटहरी पठाइएको छ।
निर्णय अनुसार मन्त्रालयबाट सीडीई कुमार किसलय कर्णलाई पूर्वाधार विकास कार्यालय ताप्लेजुङ पठाउँदा पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर उत्तम खरेललाई पूर्वाधार विकास कार्यालय धनकुटा पठाइएको छ।
पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर सुजन दाहाललाई पूर्वाधार विकास कार्यालय तेह्रथुम पठाइएको छ। पूर्वाधार विकास कार्यालय सुनसरीका इन्जिनियर सुरेशप्रसाद शाहलाई भने पूर्वाधार विकास कार्यालय ओखलढुङ्गा पुर्याइएको छ। पूर्वाधार विकास निर्देशनालय इटहरीका प्रमुख जितेन्द्र कर्णलाई पूर्वाधार विकास कार्यालय सुनसरी लगिएको छ। यस्तै मन्त्रालयका सीडीई रमेश कुमार श्रेष्ठलाई पूर्वाधार विकास कार्यालय सोलुखुम्बु पठाइएको छ।
यस्तै पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख इन्जिनियर राजनराज रेड्डी, पूर्वाधार विकास कार्यालय झापाका प्रमुख सीडीई राजेश्वर महतो, पूर्वाधार विकास कार्यालय इलामका सीडीई रञ्जयबहादुर सिंह, पूर्वाधार विकास कार्यालय, पाँचथरका सीडीई शैलेन्द्र कुमार सिंंह, पूर्वाधार विकास कार्यालय, संखुवासभाका सीडीई शोभाकान्त रौनियारलाई भने सोही कार्यालयमा थमौती गरिएको छ।
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यबाटै यसअघि सात वटा कार्यालय रहेको पूर्वाधार विकास कार्यालयहरूलाई विस्तार गर्दै १४ वटै जिल्लामा लैजाने निर्णय गरेको थियो। तर, निर्णयको अभावमा कार्यालय प्रमुखहरू भने बजेट कार्यान्वयन भएको तीन महिना वितिसक्दा मात्रै हाजिर भएका छन्।
को कहाँ ?
१०– सीडीई विनम दाहाल
पूर्वाधार विकास कार्यालय, खोटाङ
२०– सीडीई राजेश्वर महतो
पूर्वाधार विकास कार्यालय, झापा
३०– सीडीई रञ्जय बहादुर सिंह
पूर्वाधार विकास कार्यालय, इलाम
४०– सीडीई शैलेन्द्र कुमार सिंह
पूर्वाधार विकास कार्यालय, पाँचथर
५०– सीडीई शोभाकान्त रौनियार
पूर्वाधार विकास कार्यालय, संखुवासभा
६०– सीडीई गङासागर यादब
पूर्वाधार विकास कार्यालय, उदयपुर
७०– सीडीई खरानन्द ईसर
पूर्वाधार विकास कार्यालय, मोरङ
८०– सीडीई कुमार किसलय कर्ण
पूर्वाधार विकास कार्यालय, ताप्लेजुङ
९०– अधिकृतस्तर आठौँ, इन्जिनियर, राजनराज रेड्डी
पूर्वाधार विकास कार्यालय, भोजपुर
१००– अधिकृतस्तर आठौं, इन्जिनियर, उत्तम खरेल
पूर्वाधार विकास कार्यालय, धनकुटा
११०– अधिकृतस्तर आठौँ, इन्जिनियर, सुजन दाहाल
पूर्वाधार विकास कार्यालय, तेहथुम
१२०– राप तृतीय इन्जिनियर सुरेश प्रासद शाह
पूर्वाधार विकास कार्यालय, ओखलढुंगा
१३०– भीसीडीई जितेन्द्र कर्ण
पूर्वाधार विकास कार्यालय, सुनसरी
१४०– सीडीई रमेश कुमार श्रेष्ठ
पूर्वाधार विकास कार्यालय, सोलुखुम्बु
१५०– सीडीई सुशील श्रेष्ठ
पूर्वाधार विकास निर्देशनालय, इटहरी, सुनसरी, रातोपाटीबाट