काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सुरु हुन लागेको हो।
प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यो सिजनमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्न लागेका हुन्।
आजको उद्घाटन खेल अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा हुनेछ। सो खेल बेलुकी ५ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ। तेस्रो एनपिएलको सिंगल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मंसिर ५ गते उपाधि भिडन्त हुने छ।
एनपिएल तेस्रो संस्करणको विजेता टोलीले एक करोड ५० लाख रुपियाँ पुरस्कार पाउनेछ। यसै गरी उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपियाँ प्राप्त गर्ने छन्। यो पुरस्कार रकम गत संस्करणको भन्दा बढी हो। गत संस्करणको विजेता लुम्बिनी लायन्सले एक करोड १० लाख रुपियाँ पाएको थियो।