देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने - Chaitanya News
  • 2026-10-26
  • 12:44:29
  • सोमबार,कार्तिक १०, २०८३
  • देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

    देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

    काठमाडौँ: यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको छ।

    सरकारले आर्थिक वर्ष २०८३/०८४ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैँ परेकोले कात्तिकको १७ र १८ गते खुवाउन तयारी थालिएको हो ।

    स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिलाविक्रम थापाले भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधी एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने जानकारी दिए।

    भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधी करिब २० लाख बालबालिकालाई खुवाइने भएको छ। भिटामिन ‘ए’ सबै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकेको छ।

    सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधी नियमित खुवाउन थालेको हो।

    राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिने बताए।