धनगढी- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने उद्घाटन खेल धनगढी उपमहानगरपालिका–१ स्थित जेन्जी मार्गमा रहेको डिजिटल बोर्डमार्फत प्रत्यक्ष प्रदर्शन गरिने भएको छ ।
धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले डिजिटल बोर्डमार्फत खेल प्रदर्शन गरिने जानकारी दिँदै खेल हेर्न इच्छुक नगरवासीलाई उपस्थित हुन आग्रह गरेका छन्। यसले क्रिकेटप्रेमी नगरवासीलाई सामूहिक रूपमा खेल हेर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
एनपीएलको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। उद्घाटन खेलमै उपाधि विजेता र उपविजेता टोली आमनेसामने हुने भएपछि खेललाई चासोका साथ हेरिएको छ।
डिजिटल बोर्डमा खेल प्रदर्शन गरिने भएपछि धनगढीका क्रिकेटप्रेमीले सार्वजनिक स्थलमा भेला भएर खेलको रोमाञ्चकता अनुभव गर्न सक्नेछन् ।