धनगढीः सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा १ लाख ७५ हजार बालबालिकालाई जुकाको औषधी र २ लाख ३० हजार बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल खुवाइने भएको छ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीले उपलब्ध गराएको विवरणअनुसार प्रदेशमा सबैभन्दा बढी कैलालीमा ५७ हजार ४८९ बालबालिकालाई जुकाको औषधी र ७० हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य राखिएको छ। त्यसैगरी कञ्चनपुरमा ३६ हजार ५९७ बालबालिकालाई जुकाको औषधी र ४५ हजारलाई भिटामिन ‘ए’ खुवाइनेछ।
बैतडीमा १५ हजार ४५९ बालबालिकालाई जुकाको औषधी र २१ हजारलाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य छ। डोटीमा १३ हजार ९३३ बालबालिकालाई जुकाको औषधी र १८ हजारलाई भिटामिन ‘ए’ खुवाइनेछ। अछाममा १३ हजार २७ बालबालिकालाई जुकाको औषधी र १८ हजारलाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य राखिएको छ।
त्यस्तै बाजुरामा ९ हजार ९३८ बालबालिकालाई जुकाको औषधी र १५ हजारलाई भिटामिन ‘ए’ खुवाइनेछ। बझाङमा १२ हजार ४७५ बालबालिकालाई जुकाको औषधी र १६ हजारलाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य छ।
दार्चुलामा ७ हजार ५०६ बालबालिकालाई जुकाको औषधी र १३ हजारलाई भिटामिन ‘ए’ खुवाइनेछ। डडेल्धुरामा ८ हजार ५७६ बालबालिकालाई जुकाको औषधी र १४ हजार बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल खुवाउने लक्ष्य राखिएको छ।
राष्ट्रिय विवरणअनुसार यही कात्तिक १७ र १८ गते देशभर २१ लाख ३५ हजार बालबालिकालाई जुकाको औषधी र २८ लाख ५ हजार ६०० बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य रहेको छ।
सुदूरपश्चिमका लागि आवश्यक पर्ने जुकाको औषधी र भिटामिन ‘ए’ को क्याप्सुल स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा आइपुगेको र ९ वटै जिल्लामा पठाउने काम भइरहेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी जयन्द्र बोगटीले जानकारी दिए।
उनका अनुसार केन्द्रले स्वास्थ्य कार्यालयहरूलाई औषधी पठाउने र स्वास्थ्य कार्यालहरूले स्थानीय तहमा आवश्य औषधी पठाउने व्यवस्था मिलाइएको छ।
कात्तिक १७ र १८ गते महिला स्वास्थ्य स्वयंसेविकाहरूले वडास्तरमा पाँच वर्षमुनिका बालबालिकाहरूलाई जुकाको औषधी र भिटामिन ‘ए’ खुयाउने छन्।