तिहारमा कुकुरको पूजा किन गरिन्छ ? यस्तो छ धार्मिक महत्व - Chaitanya News
  • 2026-05-17
  • 01:00:57
  • शनिबार,जेठ ०२, २०८३
  • तिहारमा कुकुरको पूजा किन गरिन्छ ? यस्तो छ धार्मिक महत्व

    तिहारमा कुकुरको पूजा किन गरिन्छ ? यस्तो छ धार्मिक महत्व

    काठमाडौं– झिलिमिली उज्यालो बत्तिहरु, आँगनमा मगमगाँउदै फूलेका सयपत्री र मखमली फूल, सेलरोटी लगायत विभिन्न प्रकारका स्वादिला मिठाईहरु तथा देउसी भैलोको रोमाञ्चक नाचगानमा मात्रै तिहार पर्वको परिचय सीमित छैन्।

    हिन्दू धर्मावलम्बीहरुले हर्षोल्लासपूर्ण रुपमा मनाउने तिहार दशैं सकिए लगत्तै आँउछ। कात्तिक कृष्ण त्रयोदशी देखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरि पाँच दिन मनाइने यस पर्वमा प्रकृति र मानव जीवनसँग जोडिएका विभिन्न जीवहरुको समेत पूजाआजा गर्ने चलन रहेको छ।

    तिहार पर्वको पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ। यमपञ्चकमा क्रमैसँग काग, कुकुर, गाई, गोरुको पूजा गर्ने गरिन्छ र अन्तिम दिनमा दिदीबहिनीहरुले आफना दाजुभाईलाई टिका लगाइदिइ दिर्घायुको कामना गर्ने गरिन्छ।

    तिहारमा कुकुरको पूजाआजा किन गरिन्छ:

    यमपञ्चकको दोस्रो दिन अर्थात कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाईन्छ।

    यो दिनमा प्राचिन कालदेखि नै मानवजातीसँग प्रगाढ र बलियो सम्बन्ध भएको जीवको रुपमा मानिने कुकुरको पूजाआजा गरिन्छ। हिन्दू धर्ममा कुकुरलाई आज्ञापालक र बफादार मानेर विशेष स्थान दिइएको छ।

    हिन्दू धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मीको साथै यमराजको दूतका रुपमा वर्णन गरिएको छ। मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको धर्मशास्त्रमा उल्लेख छ। यस्तै कुकुरलाई भगवान भैरवको बाहनको रुपमा पनि चिनिन्छ।

    मानव सभ्यताको सुरुवात देखिनै कुकुरले हरेक समयमा मानवहरुलाई सहयोग गरेको पाइन्छ। कुकुरले घरको रेखदेख गरेर चोर डाँकाबाट बँचाउने गर्छ। कुकुरको निन्द्रा पातलो हुने भएकाले यो हरक्षण चनाखो हुन्छ र यो थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा चिनिन्छ।

    कुकुर तिहारको दिन कुकुरलाई पूजाआजा गरि माला लगाइदिने चलन रहेको छ। त्यसपछि कुकुरलाई मन पर्ने खानेकुरा खान दिइन्छ।

    ऋगवेदमा देवकुकुर्नी शरमाले इन्द्रको दूत बनेर असुर व्यापारीहरूसित वार्ता गरेको प्रसङ्ग छ। यस्तै अर्को पौराणिक प्रसङ्गमा शरमाका छाउरालाई सानो गल्तीका कारण यज्ञकर्ताहरूले कुटेकाले कुकुर्नीले उनीहरूलाई श्राप दिएको प्रसंग उल्लेख छ।

    यस्तै महाभारतमा पाण्डवहरू स्वर्ग जाने बेलामा युधिष्ठिरले आफ्नो कुकुरलाई पनि सँगै लिएर स्वर्ग गएको कथा छ। उक्त कथामा कुकुरलाई यमराज वा धर्मराजकै स्वरूपको रुपमा वर्णन गरिएको छ।

    कुकुर तिहारको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। यो दिन सबै पाप नाश गर्न नर्के नुहाउने चलन रहेको छ। यस दिन मासको पात खाने चलन पनि रहेको छ। यस दिन मासको पातको साग खाए मानिसका सबै पाप नाश हुन्छ भन्ने विश्वास रहेको छ।

    कुकुर तिहारको दिन कुकुरको पूजाआजा गरी खाना खान दिने मानिसहरुलाई पूण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ। त्यसैले कुकुर तिहारको दिनमा आफ्नो घरमा पालेका मात्रै नभई सडकका कुकुरहरुलाई पनि माला लगाइदिइ टिका लगाइदिएर खाना खान दिइन्छ।

    पूजा गरेर माला लगाई खाना खान दिने यस विशेष कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्व दिएको मान्न सकिन्छ। कुकुर तिहारको दिन मानव समाज र कुकुरहरु बीचको प्रगाढ सम्बन्धको अर्चना गरिन्छ।

    कुकर तिहारको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिसले यमराजबाट दण्ड पाँउछन् भन्ने विश्वास रहि आएको छ। त्यसैले यस दिन विहान सबेरै उठेर नित्यकर्म र स्नान गरिसकेपछि कुकरको पूजाआजा गर्ने चलन छ।

    हाम्रो समाजमा कुकुरको किन धेरै महत्व रहेको छ ?

    विशेष गरी कुकुरहरु हाम्रो गाँउघरमा सुरक्षा र हेरचाहको लागि पालिने गरिन्छ। गोठहरुमा धेरै पशुपालन गर्ने कृषकहरुले गोठालोको रुपमा पनि कुकुर पाल्ने गर्छन्।

    त्यस्तै कुकुरले प्राकृतिक प्रकोप आउनुपूर्वनै केही समयअगाडि नै थाहा पाउँछ र भुकेर यस्ता कुराहरुको पूर्वसूचना दिने गर्छन्। जति सुकै दुःख कष्ट आइपरे पनि कुकुरले आफ्नो मालिकको साथ छोड्दैन। त्यसैले मानिसले कुकुरलाई आफ्नो भरपर्दो साथीको रुपमा लिने गर्छन्।

    कुकुरलाई आज्ञापालक र रक्षक मात्र मानिँदैन यसले विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धानको कार्यमा पनि सघाउँछ। कुकुरको सुँघ्नसक्ने क्षमता असाधारण हुन्छ। त्यसैले सेना, प्रहरीहरुले अपराधी पत्ता लगाउन पनि तालिमप्राप्त कुकुरको सहायता लिने गर्छन्।

    यमपञ्चकले पृथ्वीमा रहेका सबै जीव जनावरहरुलाई हामीले माया र संरक्षण गर्नुपर्छ भन्ने कुरा सिकाँउछ। त्यसै अनुसार मानवसभ्यताको सुरुवातदेखि नै मानवहरुलाई साथ दिँदै आएको कुकुरलाई विशेष महत्व दिएर पूजाआजा गरिन्छ।