मन्त्री घिसिङले गरे क्षतिग्रस्त बनेको बीपी राजमार्गको अनुगमन - Chaitanya News
  • 2026-05-28
  • 15:54:13
  • बिहिबार,जेठ १४, २०८३
  • मन्त्री घिसिङले गरे क्षतिग्रस्त बनेको बीपी राजमार्गको अनुगमन

    मन्त्री घिसिङले गरे क्षतिग्रस्त बनेको बीपी राजमार्गको अनुगमन

    काठमाडौँ– बाढी पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अनुगमन गरेका छन्।

    आज (बिहीबार) बिहान मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित मन्त्री घिसिङले भदौ १८ गतेको पहिरोले क्षतिग्रस्त बनेको राजमार्गको अनुगमन गरेका हुन्।

    बाढीले क्षतिग्रस्त उक्त राजमार्गको करिब चार किलोमिटर खण्डमा अस्थायी ‘डाइभर्सन’ बनाएर सडक सञ्चालनको तयारीका क्रममा मन्त्री घिसिङ नेतृत्वको टोली अनुगमनमा निस्केको हो।

    मन्त्री घिसिङले कार्यक्षेत्रमा खटिका सडक विभागका इञ्जिनियर र निर्माण व्यवसायीलाई संघीय राजधानी काठमाडौँसँग वाग्मती, मधेस र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने ‘लाइफ लाइन’ का रूपमा रहेको यो सडकलाई जतिसक्दो चाँडो सञ्चालन हुनेगरी काम गर्न आग्रह गरेका छन्।

    गत वर्षको बाढीले उक्त राजमार्गको भकुण्डे–नेपालथोक खण्डमा क्षति भएको थियो । उक्त खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकामा हालैको बाढीले करिब चार किलोमिटर पुनः बगाएको छ।

    गत वर्षको बाढीबाट क्षतिग्रस्त सडक स्थायी रूपमा निर्माण गर्न केही खण्डको ठेक्का लागिसकेको छ भने कहीँ खण्डको ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ।