काठमाडौँ– नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले इलाम पहिरो प्रभावितका लागि राहत प्याकेजबारे गृहमन्त्री ओमप्रकाश अर्याल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग छलफल गरेका छन्।
इलाम–२ का निवर्तमान सांसदसमेत रहेका नेम्वाङले दुई मन्त्रीसहित विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलाई पनि भेटेर इलाम पहिरोले निम्त्याएको संकट, राहत तथा पुनः स्थापनाको योजनाबारे पनि ध्यानाकर्षण गराएका छन्।
भेटबारे जानकारी दिँदै उनले भनेका छन्, ‘इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् भने केही अझै बेपत्ता छन्। घरहरू क्षतविक्षत भएका छन्, सडक भत्किएर अवरुद्ध छ, विद्युत् आपूर्ति र सञ्चार सेवामा समेत अवरोध उत्पन्न भएको छ। यो कठिन घडीले हामी सबैलाई गहिरो पीडा र चिन्तामा पारेको छ।’
उनले मन्त्रालय र प्राधिकरणसँगको छलफलका भएको ४ विषयसहित मृतकका सबै परिवारलाई क्षतिपूर्ति दिने, एक जना गुमाएको खण्डमा २ लाख रुपैयाँ र एकभन्दा बढीको मृत्यु भएमा थप प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने ९पालिकाबाट व्यवस्थापन गरिने० बारे पनि छलफल भएको बताएका छन्।