काठमाडौँ– गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोले ठुलो धनजनको क्षति पुर्यायो । बाढी पहिरोका कारण देशैभरका राजमार्गहरू क्षतिग्रस्त भएका थिए।
काठमाडौँ उपत्यकाभित्र नै ठुलो विपद् आएको थियो, धेरै वटा बस्ती बगे। थातथलो बगाएको थियो। बाढीकै कारण कैयौँको लगानी क्षणभरमा नष्ट भएको थियो। दुई सयभन्दा बढीले ज्यान गुमाउनुपरेको थियो।
नेपालले हरेक वर्ष प्राकृतिक विपत्ति भोग्दै आएको छ। मनसुन सुरु भएसँगै हरेक वर्ष बाढीपहिरोको मारमा नेपाल पर्ने गर्छ। विपद्बाट हुने क्षति कम गर्न राज्य संयन्त्रले धेरथोर काम पनि गरिरहन्छ। तर, पर्याप्त तयारी र पूर्वसूचना प्रवाहमा ध्यान नदिँदा ठुलो विपद् भोग्नुपरेका प्रशस्त उदाहरणहरू हामीसँग छन्। गत वर्ष चाडपर्वको मुखमा अविरल वर्षापछि बाढीपहिरोको विपद् भोग्नुपर्यो।
गत असोज ११ र १२ गते वर्षासँगै गएको बाढी र पहिरो बिर्साउने गरी यस वर्ष पनि शुक्रबारदेखि शनिबार बेलुकीसम्म निरन्तर वर्षा भयो। जल तथा मौसम विभागका अनुसार अझै भोलि अर्थात् सोमबारसम्मै निरन्तर वर्षा हुने प्रक्षेपण गरिएको छ।
शुक्रबारदेखि शनिबार बेलुकीसम्म निरन्तर परेको वर्षाका कारण देशभरका मुख्य राजमार्गहरू बाढी र पहिरोका कारण अवरुद्ध बने। इलाम तथा पूर्वपहाडी जिल्लाहरूमा पहिरोमा परेर धेरै मानिसले ज्यान गुमाएका छन्।
बाढीपहिरोको जोखिमका कारण दसैँ मनाएर काठमाडौँ फर्किने यात्रुहरू सडक अवरुद्ध हुँदा बिच बाटोमा बस्न बाध्य भएका छन्। केही सडक मार्गहरू सुचारु गर्ने गरी सरकारले अवरुद्ध सडक पन्छाउने कार्य निरन्तर गरिरहेको छ।
यसरी गत वर्षको असोजमा नै आएको बाढीपहिरोले पुर्याएको क्षतिको पुनर्निर्माण गर्न नपाउँदै अर्को मौसमी विपद्को सामना नेपालले गर्नुपरेको छ।
गत वर्षको बाढीपहिरोबाट क्षति भएका सडक अझै साविककै अवस्थामा आउन सकेका छैनन्। तर, यो वर्षको अविरल वर्षाले पनि विपद् निम्त्याउँदा केही क्षति पुर्याएको छ। भर्खरै मात्र नेपाल जेनजी आन्दोलनबाट सरकारी र निजी सम्पत्ति खरानी भएको छ। आन्दोलनको सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ।
आन्दोलनबाट भएको क्षतिको अनुमान गर्न नपाउँदै सरकारले मौसमी विपद्को सामना गर्नुपर्यो।
तर, विगतमा दुई तिहाइको निर्वाचित सरकार हुँदा पनि यस्ता विपद् आए। विपद्लाई सरकारले सामान्य रूपमा लियो, धेरै धनजनको क्षति पुग्यो। तर यसपटक विगतको विपद्पूर्वको जस्तो मनसुनी प्रणाली र त्यसपछि आउने जोखिमबारे नागरिक सूचनाविहीन हुने अवस्था रहन सरकारले दिएन।
वर्तमान कार्की नेतृत्वको सरकारले यसपटक प्रभावकारी रूपमा विपद् सम्बन्धी सूचना प्रवाह प्रणाली सक्रिय बनायो। जल तथा मौसम विभागले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने प्रक्षेपण गरेको थियो।
उक्त प्रक्षेपणसँगै विभागले हरेक नागरिकलाई एसएमसमार्फत तीन दिन भारी वर्षा हुने र बाढी तथा डुबान हुने क्षेत्रहरूमा अति उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो। योसँगै सरकारका हरेक निकाय यो पटक सूचना प्रवाहमा सक्रिय र चनाखो देखिए।
सरकारले दसैँ मनाउन गाउँ गएकाहरू सहर फर्किन नपाउँदै सुरक्षित रहन, अनावश्यक यात्रा नगर्न र आवश्यक नभए घरै बस्न भन्दै सुरक्षा खतराबारे सूचित गरायो । मौसम विभागको सूचना अनुसार सरकारका सबै निकायहरूले विभिन्न माध्यमबाट दसैँ लागेसँगै असोज १७ गतेदेखि असोज २० गतेसम्म लामो दूरीको यात्रा नगर्न सूचना नै जारी गरेको थियो।
त्यति मात्रै नभएर सरकारले तराई क्षेत्रमा अन्नबाली सुरक्षाका लागि समेत पाकेको बाली नकाट्न र काटेको भए तत्काल उठाएर सुरक्षित गर्न आग्रह गर्दै सूचना प्रवाह गरेको थियो।
मौसम विभाग र मौसमविद्हरूले तीन दिन ठुलो पानी पर्ने अनुमान गरे। वर्तमान सरकारले त्यहीअनुरूप जनताको सुरक्षाका लागि भन्दै विपद्पूर्व अनुमान भएसँगै लामो दूरीका राजमार्गमा रातको समयमा यात्रामा रोक लगायो। त्यसले पनि हुने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न मद्दत पुर्याएको छ।
सूचना प्रवाह केन्द्रदेखि स्थानीय सरकारसम्म एकरूपता:
सरकारले विपद्को पूर्वसूचना केन्द्रदेखि स्थानीय सरकारसम्म एकरूपताका साथ प्रवाह गरेको थियो। प्रधानमन्त्री कार्यालयदेखि स्थानीय तहसम्मले एउटै प्रकारको सूचना प्रवाह गरियो। मोबाइलमा फोन गर्दा पनि बाढीरपहिरोको सूचना बजाइयो।
त्यसमा मिडियाहरूले पनि विगतका विपद्को अनुभवलाई आत्मसात् गर्दै यो वर्षको पूर्वानुमानलाई प्रमुख प्राथमिकतामा राखेर निरन्तर रूपमा अपडेट दिइरहेका छन्। त्यति मात्रै होइन, मिडियाले सचेत र सुरक्षित रहन पलपलमा अपडेट गराए।
सरकारले स्थानीय तहसम्मलाई निरन्तर वर्षापछि आउने विपद्बाट हुने क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन दियो। त्यसले पनि सबैलाई सचेत र सावधानी अपनाउन ग्रामीण तहसम्म सूचना प्रवाह मजबूत भएको देखिन्छ।
यो वर्षको मौसमी विपद्मा सरकारले सूचना प्रवाह र विपद् व्यवस्थापनमा देखाएको चनाखोपन र सक्रियतालाई आम सर्वसाधारणले समेत प्रशंसा गरिरहेका छन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो पटक सरकार भएको अनुभूति भएको भन्दै सामाजिक सञ्जालमा सरकारलाई धन्यवाद दिइरहेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सरकारको चनाखोपन र सक्रियताले विपद् रोक्न नसके पनि नागरिकसम्म सहज रूपमा सूचना प्रवाह गर्दा जनधनको क्षति हुनबाट रोकिन मद्दत पुग्ने बताइरहेका छन्।
प्रधानमन्त्रीदेखि दुई मन्त्रीको निरन्तर सन्देश:
शुक्रबारदेखि निरन्तर पानी परेसँगै सरकारले शनिबार काठमाडौँ उपत्यका र बाहिर जिल्लाबाट काठमाडौं आगमनलाई रोक लगाउने काम गर्यो। आधा बाटोमा आइपुगेका सवारी साधनहरूलाई सुरक्षित स्थानमा होल्ड गराउने काम तत्काल स्थानीय प्रशासन मार्फत गराउन सफल भयो। काठमाडौँ उपत्यकाबाट बाहिर जिल्ला हिँडेका सवारी साधनलाई नाकामा रोक्यो।
शनिबार ‘जो जहाँ हुनुहुन्छ, त्यहीँ बस्नुस्। सडक अवरुद्ध छन्। बाढीपहिरोको जोखिम छ। सडकमा प्रहरी पुग्न सक्ने अवस्था छैन’ भन्दै प्रहरी मार्फत सूचना प्रवाह गरियो। त्यसले पनि थप जोखिम न्यूनीकरणमा मद्दत गर्यो । यात्रामा निस्केका यात्रुहरू गन्तव्यमा पुग्न नपाउनु एउटा पक्ष थियो तर सुरक्षाका हिसाबले सरकारले गरेको निर्णय स्वागतयोग्य थियो।
त्यसपछि मुख्य र जोखिमयुक्त सडक पर्ने जिल्ला प्रशासन कार्यालयले तीन दिनसम्मका लागि यातायात बन्द गर्ने निर्णय गर्यो। त्यसपछि सरकारका भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सुरक्षा निकाय, विपद् प्राधिकरण र जल तथा मौसम विभागलाई सँगै राखेर मौसम–सम्बन्धी थप जानकारी दिए।
उनले उक्त मौसम–सम्बन्धी जानकारी लिँदै देशैभरका सुरक्षा निकाय र सम्बन्धित सरोकारवालाहरूलाई विपद् जोखिम न्यूनीकरणमा जुट्न आग्रह गरे। उनले आम नागरिकलाई यात्रा नगर्न र सुरक्षित स्थानमा रहन आग्रह गरे।
त्यति मात्रै नभई सबै कार्यालय प्रमुखहरूलाई आइतबारसम्म कार्यालयहरूमा हाजिर हुन सर्कुलर जारी गरियो। त्यति मात्रै नभएर सरकारले क्षति कम गर्नकै लागि आइतबार र सोमबार दुई दिनका लागि सार्वजनिक बिदासमेत घोषणा गरेको छ।
त्यसपछि गृहमन्त्री ओमप्रकाश अर्यालले दिनभरका विवरणका विषयमा पत्रकार सम्मेलनमार्फत जानकारी दिए। उनले दिनभर सरकारले गरेका प्रयास र अविरल वर्षाको कारण सडकमा पुर्याएको क्षति, डुबान लगायत विषयमा जानकारी दिए। सरकार जोखिम न्यूनीकरण गर्न तयार रहेको सन्देश दिए।
गत वर्षको यस्तै खालको विपद्मा सरकार बाढीले मान्छे बगाउँदा समेत सक्रिय बन्न सकेको थिएन। डुबान र बाढीले काठमाडौँ उपत्यकामा धेरै मानिसको ज्यान गएको थियो। प्रधानमन्त्री विदेशमा र कार्यवाहक प्रधानमन्त्री खादा माला लगाउन सामान्य क्लबको कार्यक्रममा व्यस्त हुँदा ठुलो क्षति व्यहोर्नुपरेको थियो।
तर, यो वर्षको अविरल वर्षामा विपद्बारे पूर्वसूचना प्रवाहमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नै निरन्तर जुट्यो। आफैँ नागरिकलाई अपिल गर्नेदेखि लिएर राज्यका अन्य संयन्त्रलाई प्रभावकारी परिचालनामा जुट्यो।
प्रधानमन्त्री कार्कीले शनिबार साँझ भिडिओ सन्देश नै जारी गरिन्। सन्देशमार्फत विपद्बाट सावधानी अपनाउन र उद्धार राहतमा सक्रिय हुन सरकारी निकायहरूलाई निर्देशन दिइन्।
उनले नागरिकको सुरक्षाका लागि सरकार रहेको भन्दै आम नागरिक सचेत रहन आग्रह समेत गरिन्। प्रधानमन्त्रीले नै सावधानी अपनाउन र उद्धार राहतमा सक्रिय हुन सरकारी निकायहरूलाई दिएको निर्देशनले आम नागरिकमा जनताका लागि सरकार भएको अनुभूति गरायो।
फिल्डमा सरकार:
सरकारले स्थानीय सरकार र प्रशासनलाई चलायमान बनाएर विपद्मा परिचालन गर्न पनि सफल भएको छ।
दसैँको बिदा सकिएर गाउँघर गएकाहरू सहर फर्किने बेलामा सरकारले विपद् आउने भएसँगै नागरिकलाई जहाँ रहेको हो त्यहीँ बस्न आग्रह गर्ने काम गर्यो। नत्र दसैँमा घर जाँदाको सवारी चाप आउँदा पनि त्यस्तै हुन्थ्यो।
सडक दुर्घटना र पहिरोको जोखिम अझ बढी हुने थियो। तर, सरकारको सक्रियताले गाउँका मानिसलाई गाउँमा र सहरकालाई सहरमै रोक्ने प्रयास गर्यो, त्यसले जोखिमलाई थप कम गराउने काम गर्यो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकाभित्र सवारी साधन भित्रिन र बाहिरिन तीन दिन रोक नै लगाएको छ। लामो दूरीमा यात्रामा निस्केका यात्रुका लागि स्थानीय जिल्ला प्रशासन कार्यालयहरूले होल्डिङ स्थान तय गरेर यात्रामा रहेका सवारीलाई सुरक्षित स्थानमा राख्ने काम गर्यो।
सरकारले पूर्व नेपालबाट बीपी राजमार्ग हुँदै आउने सवारी साधनलाई नेपालथोक र काठमाडौँबाट गएका सवारी साधनलाई काभ्रेभन्ज्याङमा होल्ड गराएको थियो। त्यस्तै, चितवनबाट काठमाडौँ आउन लागेका सवारी उतै होल्ड गरिएका थिए।
होल्ड गरिएका सवारी साधनमा आएका र सडक अवरुद्ध हुँदा राजमार्गमा अलपत्र परेका यात्रुलाई बस्ने व्यवस्था र खानेकुरा उपलब्ध गराउन स्थानीय प्रशासन र स्थानीय तहलाई गृह मन्त्रालयले निर्देशन दियो। अविरल परेको वर्षाले बाहिर जिल्लामा मात्रै नभई काठमाडौँ उपत्यकामा समेत ठुलो जोखिम थियो। त्यो जोखिम न्यूनीकरणका लागि समेत सरकारले टोली बनाएर फिल्डमा खटाउने काम गर्यो। खोला किनाराका सडकमा प्रहरीले माइकिङ गर्दै सुरक्षित स्थानमा बस्न आम नागरिकलाई आग्रह गरिएको थियो।
बागमती खोला करिडोरका जोखिमयुक्त बस्तीहरूमा काठमाडौँ महानगरपालिका, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राज्यका अन्य विपद्–सम्बन्धित निकायहरू फिल्डमा खटिए। काठमाडौँ महानगरपालिकाले जोखिममा रहेका बस्तीलाई सुरक्षित विद्यालयहरूमा सार्ने काम गर्यो। सरकारले २६ वटा विपद् प्रतिकार्य बेस, ९ वटा विपद् प्रतिकार्य बेस बनाएर काम गरिरहेको छ।
ऊर्जा मन्त्री कुलमान घिसिङ आफैँ उपत्यकाका विभिन्न स्थानमा पुगेर निरीक्षणसमेत गरे।
आइतबार बिहान नै विपद् व्यवस्थापन प्राधिकरणले देशभरमा बाढीपहिरोले पारेको असरका विषयमा जानकारी दिइसकेको छ। त्यस्तै, अन्य बाढीले देशका मुख्य सडक पूर्वाधारमा पुर्याएको क्षतिका विषयमा भौतिक पूर्वाधार मन्त्री घिसिङले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्। रातोपटीबाट