राहुल यादवको घातक बलिङमा काठमान्डु ११५ रनमै समेटियो, जनकपुरलाई सामान्य लक्ष्य - Chaitanya News
  • 2026-10-29
  • 15:30:09
  • बिहिबार,कार्तिक १३, २०८३
  • राहुल यादवको घातक बलिङमा काठमान्डु ११५ रनमै समेटियो, जनकपुरलाई सामान्य लक्ष्य

    राहुल यादवको घातक बलिङमा काठमान्डु ११५ रनमै समेटियो, जनकपुरलाई सामान्य लक्ष्य

    काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सका आइकोनिक खेलाडी राहुल यादव र स्पिनरहरू चम्किँदा काठमान्डु गोर्खाज सस्तैमा समेटिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु १९.३ ओभरमा ११५ रन बनाउँदै अलआउट भएको हो।

    काठमान्डुलाई कम योगफलमा रोक्न जनकपुरका राहुल यादवले उत्कृष्ट बलिङ गरे। उनले चार ओभरमा ३१ रन खर्चेर चार महत्वपूर्ण विकेट लिए। राहुलले काठमान्डुका दुवै ओपनर साम हिजलेट र स्मित पटेलसँगै कप्तान करण केसी तथा मोहम्मद आदिल आलमलाई आउट गरे।

    जनकपुरका अन्य बलरमध्ये सैफ हसनले दुई विकेट लिए। मोइन अली, कप्तान हरमीत सिंह र ललित राजवंशीले एक–एक विकेट हात पारे। जनकपुरका बलरहरूले नियमित अन्तरालमा विकेट लिँदा काठमान्डुले ठूलो साझेदारी बनाउन सकेन।

    काठमान्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा चार चौका प्रहार गरे। रसिद खानले १७, स्मित पटेलले १३ तथा सुमित महर्जनले १० रन बनाए। रिपोन मोन्डलले नौ रन जोड्दा हरिशंकर शाहले नौ र कप्तान करण केसीले आठ रन बनाए।

    काठमान्डुको सुरुवात नै कमजोर रह्यो। टोलीले छ रन बनाउँदा ओपनर साम हिजलेटलाई एक रनमा गुमायो। १९ रनको योगफल पुग्दा हरिशंकर शाह नौ रन बनाएर आउट भए। त्यसपछि पनि विकेट पतन रोकिएन।

    रसिद खान र स्मित पटेलले केही रन जोडे पनि ठूलो साझेदारी गर्न सकेनन्। कप्तान करण केसी आठ रनमा आउट भए भने जहानदाद खान पाँच रनमा पभेलियन फर्किए। मोहम्मद आदिल आलम पहिलो बलमै आउट भए। रिपोन मोन्डल नौ रनमा आउट हुँदा शाहव आलम चार रनमा अविजित रहे।

    काठमान्डुले पहिलो खेलमा आफ्ना अनुबन्धित खेलाडी डेभिड वार्नरलाई भने मैदानमा उतारेन। उनी आइतबार मात्रै नेपाल आइपुग्ने बताइएको छ। काठमान्डुले रिपोन मोन्डल र जहानदाद खानलाई पनि मैदानमा उतारेको छ, जसको अनुबन्धबारे यसअघि सार्वजनिक घोषणा गरिएको थिएन। जनकपुरका यसअघि पहिलो खेल खेलेका जिम्मी निशम भने यस खेलमा बेन्चमा छन्।

    अब ११६ रनको लक्ष्य पछ्याउने जनकपुरलाई जितका लागि ठूलो योगफल आवश्यक पर्ने छैन। राहुल यादवको चार विकेटसहितको प्रभावशाली बलिङले जनकपुरलाई खेलमा बलियो अवस्थामा पुर्‍याएको छ।