काठमाडौँ– मुख्यसचिव एकनारायण अर्यालले देशभरका सबै मन्त्रालयका सचिवहरूलाई आफ्ना मातहतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई असोज १८ गतेसम्म अनिवार्य रूपमा कार्यस्थलमा उपस्थित गराउने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै मुख्यसचिव अर्यालले मन्त्रालयहरूलाई सतर्कता अपनाउन, पूर्वतयारी र प्रतिकार्यका कार्यमा जुट्न निर्देशन दिएका हुन्।
मुख्यसचिवले पठाएको सन्देशमा आफ्ना मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरू असोज १८ गतेसम्म कार्यस्थलमा पुगिसकेका हुनुपर्ने व्यवस्था मिलाउन सचिवहरूलाई अनुरोध गरिएको छ।
उक्त निर्देशनपछि मन्त्रालयहरू र सम्बन्धित कार्यालयहरूलाई सम्भावित विपद्का जोखिम कम गर्न अग्रिम तयारी गर्न तथा स्थानीय प्रशासन र सुरक्षासंस्थासँग समन्वय गरी आपत्कालीन व्यवस्थापनमा जुट्न आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका पूर्वी, मध्य र पश्चिमी क्षेत्रमा भारी वर्षा तथा बाढी–पहिरोको जोखिम रहन सक्ने चेतावनी दिएको छ।