दशैंको टीका लगाउँदा टीका थाप्ने व्यक्ति कता फर्किनुपर्छ र लगाइदिने व्यक्ति कता फर्किनुपर्छ ? - Chaitanya News
  • 2026-05-25
  • 01:44:14
  • आइतबार,जेठ १०, २०८३
  • दशैंको टीका लगाउँदा टीका थाप्ने व्यक्ति कता फर्किनुपर्छ र लगाइदिने व्यक्ति कता फर्किनुपर्छ ?

    दशैंको टीका लगाउँदा टीका थाप्ने व्यक्ति कता फर्किनुपर्छ र लगाइदिने व्यक्ति कता फर्किनुपर्छ ?

    काठमाडौं– आज नेपालीहरुको महान चाड बडादशैं आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइँदै छ। आज गुरुपुरोहित र मान्यजनको हातबाट पनि टीका लगाएर बडादशैं मनाइँन्छ। टीका लगाउने उत्तम साइत ११ बजेर ५३ मिनेटमा छ भन्ने त धेरैलाई थाहा भइसकेको हुनुपर्छ र टीका लगाउँदा कता फर्किएर लगाउने भन्ने पनि थाहा नै होला।

    हो, दशैंको टीका लगाउँदा टीका थाप्ने व्यक्ति पूर्व फर्किनुपर्छ र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा।डा। देवमणी भट्टराईका अनुसार परम्परा अनुसार पूर्व–पश्चिम टीकाको साइत हो। ‘सामान्यतयाः पूर्व–पश्चिम नै हाम्रो पुरानो परम्परा हो,’ प्रा.डा.भट्टराई भन्छन्, ‘दशैंको टीका थाप्ने व्यक्ति पूर्वपट्टि फर्किने र टीका लगाइदिने मान्यजन पश्चिमतिर फर्किनुपर्छ।’

    कोही–कोही दक्षिणतिर फर्किएर पनि टीका लगाउने गर्दछन्। तर दक्षिणतिर पितृकर्म मात्रै गरिने भएकाले दशैंको टीका लगाउँदा दक्षिण नफर्किंदा राम्रो हुने भट्टराईको भनाइ छ।

    कतिपयले चन्द्रमा हेरेर साइतका आधारमा पनि टीका लगाइदिने र थाप्ने दिशा तय गर्छन्। तर त्यति विस्तृत रुपमा जाने चलन नभएकाले टीका थाप्ने व्यक्ति पूर्व र टीका लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने उनले बताए।

    यस वर्षको देवी विसर्जनको साइत ९ बजेर २३ मिनेटमा र टीका लगाउने उत्तम साइत ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

    तर काम विशेषले टाढा जानुपर्नेहरुले झुल्के घाममै देवी विसर्जन गरेलगत्तै टीका लगाउन सक्ने बताइन्छ। किनभने टीका–जमरा देवीदुर्गाको पूजाको प्रसाद भएकाले प्रसाद ग्रहण गर्न साइत हेरिराख्नु पर्दैन।