बागलुङ– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काली गण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुंगा खण्डमा ८० प्रतिशत भौतिक काम भएको छ। आयोजना सुरु भएको १६ वर्षमा करिडोरअन्तर्गत उक्त खण्डमा पर्ने २९३ किमीमध्ये २३४ किमी सडक कालो पत्र, ३६ वटा पुल निर्माण सम्पन्न भएका छन् भने छ वटा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
गैँडाकोट(राम्दी(मालढुंगा सडक योजना पाल्पाको तथ्यांकअनुसार बागलुङ, गुल्मी, पाल्पा, नवलपुर र काली गण्डकी लोक मार्ग मिर्मि(सेतीवेनी(फलेवास–अर्मादी–कुश्मा खण्डकको स्याङ्जा र पर्वत जिल्लामा फैलिएको उक्त खण्डमा ८० प्रतिशत भौतिक प्रगति र ७० प्रतिशत वित्तीय प्रगति भएको छ। आयोजना सुरु भएको १६ वर्षमा बाटो खोल्न, स्तरोन्नति, चौडा पार्न, कालो पत्र गर्न र पुलहरू निर्माणका लागि रु.१४ अर्ब सात करोड खर्च भएको करिडोर आयोजनाका इन्जिनियर उत्सव बस्यालले जानकारी दिए।
आर्थिक वर्ष २०६६–६७ मा सुरु गरिएको आयोजना र २०८३–८४ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ। रु.२० अर्ब लागत अनुमान गरिएको उक्त २९३ किमी खण्डमा हालसम्म ७० प्रतिशत रकम खर्च भइसकेको छ। इन्जिनियर बस्यालले हालसम्म १४५ किमी सडक सम्पन्न भएर सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिसकिएको जानकारी दिए। उक्त खण्डमा पहिराको ठेक्का व्यवस्थापन, शून्य दशमलव ४२ किमी सडकको ठेक्का व्यवस्थापन र १७ वटा पुल बन्न बाँकी रहेको उनले जानकारी दिए।
करिडोर गैँडाकोट(राम्दी(मालढुंगा खण्ड चार जिल्ला र काली गण्डकी लोक मार्ग मिर्मि–सेतीवेनी(फलेवास(अर्मादी(कुश्मा खण्ड दुई जिल्लामा फैलिएको रहेको छ। करिडोरको नवलपुरमा ७७ दशमलव ९७ किमी, पाल्पामा ८६ दशमलव २७ किमी, गुल्मीमा ४१ दशमलव ०६ किमी, बागलुङमा ३४ दशमलव ७० किमी, स्याङ्जामा १० किमी र पर्वतमा ४३ किमी पर्दछ।