काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असोज ३ गते कालो दिवस मनाउने निर्णय गरेको छ। आज पार्टी कार्यालयमा बसेको सो पार्टीको पदाधिकारी तथा अन्य भातृसंगठनका पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो।
पार्टीका अध्यक्ष महन्थ ठाकुरले असोज ३ गते कालो दिवस मनाउने निर्णय भएको बताए। बैठकपछि अध्यक्ष ठाकुरले एक विज्ञप्ति जारी गर्दै आगामी ३ गते कालो दिनका अतिरिक्त शोक दिवसको रूपमा कालो पट्टी लगाई मनाउने निर्णय भएको बताएका छन्।
सरकारले असोज ३ गते संविधान दिवस मनाउँदै आएको छ। सरकारले २०७२ असोज ३ गते संविधान जारी गरेको थियो। त्यो संविधानले मधेसको अधिकार र पहिचान पुरा नगरेको भन्दै लोसपा लगायत अन्य मधेसवादी दलहरूले आन्दोलन गर्दै आइरहेका छन्। ती दलले संविधान संशोधनको माग गर्दै लामो समय आन्दोलन गरेका थिए। तर संविधान संशोधन नभएपछि लोसपा नेपालले भने सुरु देखिनै असोज ३ लाई कालो दिवसको रूपमा मनाउँदै आएको छ।
बैठकले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदप्रति श्रद्धाञ्जली समेत अर्पण गरेको छ।