काठमाडौँ– भोलि सोमबारदेखि देशभरि सरकारी सहुलियत (सुपथ मूल्य) पसल सञ्चालनमा आउने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ८ भदौमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले संयुक्त रूपमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने तयारी गरेका हुन्।
तर, २३ र २४ भदौमा भएको जेन जेड आन्दोलनका कारण देशभरि ७२ जनाको मृत्यु र सरकारीसँगै निजी उद्यम–व्यवसायमा तोडफोड, लुटपाट र आगजनी भएपछि सरकारले सञ्चालन गर्न लागेको सहुलियत पसल सञ्चालनमा नआउने हो कि भनेर उपभोक्तामा अन्योल छाएको थियो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तोकिएकै मिति अर्थात् भोलिदेखि नै सुपथ मूल्य पसल सञ्चालनमा आउने जानकारी दिएको छ।