आन्तरिक उडान बन्द, अन्तरराष्ट्रियतर्फ आधा दर्जन विमान आकाशमै - Chaitanya News
  • 2026-11-09
  • 14:14:52
  • सोमबार,कार्तिक २४, २०८३
  • आन्तरिक उडान बन्द, अन्तरराष्ट्रियतर्फ आधा दर्जन विमान आकाशमै

    आन्तरिक उडान बन्द, अन्तरराष्ट्रियतर्फ आधा दर्जन विमान आकाशमै

    काठमाडौँ– प्रतिकूल अवस्थाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पूर्ण रूपमा प्रभावित भएको छ। आन्तरिक उडान पूर्ण रूपमा ठप्प छ भने अन्तर्राष्ट्रियतर्फका आधा दर्जन विमान आकाशमा ‘होल्ड’ भएका छन्। हिमालय एयरलाइन्सको विमान ‘डाइभर्ट’ भएको छ।

    विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आजका लागि आन्तरिक उडान बन्द गरिएको छ। अन्तर्राष्ट्रियतर्फका विमानबारे छिट्टै निर्णय लिइने उनले बताइन्। ‘फ्लाइट रार्डर’का अनुसार सिमरामाथिको आकाशमा ती विमानहरूले फन्को लगाइरहेका छन्। भारतको मुम्बईबाट आएको एयर इन्डिगो, नयाँ दिल्लीबाट आएको इन्डिगो र नयाँदिल्लीबाटै आएको भिस्तारा एयरलाइन्स होल्ड भएका छन्।

    यस्तै थाइल्यान्डको राजधानी बैङ्ककबाट आएको एयर एसिया, बैङ्ककबाटै आएको थाई लायन र बङ्गलादेशको राजधानी ढाकाबाट आएको विमान बङ्गलादेश होल्डमा बसेका हुन्। विमानस्थलको दक्षिणतर्फ ठूलठूला आगजनी र धुवाँको मुस्लो रहेकाले विमानस्थलको हवाई सुरक्षालाई मध्यनजर गदै हवाई उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द:
    पछिल्लो विकसित परिस्थितिका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ। विमानस्थलका प्रवक्ता शेर्पाका अनुसार आज राति १ बजेसम्मका लागि विमानस्थलको सम्पूर्ण उडान बन्द गरिएको हो। विभिन्न गन्तव्यबाट आएका अन्तर्राष्ट्रिय उडानका विमानहरू डाइभर्ट गरिएका छन्।

    अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ देखि राति १ बजेसम्ममा सञ्चालन हुँदै आएको थियो। विमानस्थलको दक्षिणतर्फ ठूलठूला आगजनी र धुवाँको मुस्लो रहेकाले विमानस्थलको हवाई सुरक्षालाई मध्यनजर गर्दै हवाई उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

    आन्तरिकतर्फ १२ हेलिकोप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन्। अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन्। ‘जेन जेड’को प्रदर्शनले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आगजनी गरिएको छ।