काठमाडौँ– भारतले नेपालमा विकसित पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ।
आज (मंगलबार) भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै जेन जेडको प्रदर्शनका क्रममा युवाहरूको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “हामी नेपालमा हिजोदेखि देखिएका घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं। अनेकौं युवा जीवनको क्षतिबाट हामी गहिरो दुःखी भएका छौं। मृतकका परिवारप्रति हाम्रो समवेदना व्यक्त गर्दछौं। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।”
भारतले नेपालसँगको छिमेकी र मित्रताको नाता जोड्दै संयमता अपनाउन र समस्याहरूलाई शान्तिपूर्ण संवादमार्फत समाधान गर्न सबै पक्षलाई आग्रह गरेको छ।
यस्तै, काठमाडौँसहित विभिन्न शहरमा कर्फ्यू आदेश जारी भएको जनाउँदै नेपालमा रहेका भारतीय नागरिकलाई सतर्क रहन र स्थानीय प्रशासनले जारी गरेका निर्देशन पालना गर्न समेत सुझाव दिएको छ।
सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध सुरु भएको जेनजेडको आन्दोलनमा प्रहरीले दमन गर्दा हालसम्म १९ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन्।