यस वर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो - Chaitanya News
  • 2026-07-16
  • 09:05:13
  • बिहिबार,आषाढ ३२, २०८३
  • यस वर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो

    यस वर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो

    काठमाडौँ– भाद्र शुक्ल पूर्णिमाका दिन आइतवार राति खग्रास (पूरै ढाकिने) चन्द्र ग्रहण लागेको छ।

    नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार ग्रहणले आइतवार राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको थियो। राति ११ः५६ मा चन्द्र ग्रहणको मध्य, राति ०१ः४१ बजे ग्रहण सकिएको थियो।

    समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले साढे तीन घण्टा काठमाडौँबाट चन्द्र ग्रहण देखिएको जानकारी दिए। नेपालमा पूर्व र आग्नेयका बीचबाट चन्द्र ग्रहणले १०ः११ बजे स्पर्श गरेको र नैऋत्य र पश्चिमबाट राति ०१ः४१ बजे अन्त्य भएको पनि उनले बताए।

    पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था नै खग्रास चन्द्र ग्रहण हो। पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्र ग्रहण हो।

    यो ग्रहण नेपालबाट देखिने विसं २०८२ को पहिलो ग्रहण हो। यसै वर्ष आगामी फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्र ग्रहण लाग्ने समितिले जनाएको छ। चन्द्र ग्रहण पूर्णिमा र सूर्य ग्रहण औँसी तिथिमा लाग्ने गर्छ।