काठमाडौँ– मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै सिक्किम आसपासको निम्न चापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भू–भागमा पर्ने देखिएको छ।
यस्तै आज, कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधरणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडका थोरै र बाँकी भू–भागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
यसैगरी महाशाखाका अनुसार, आज दिउँसो देशको पहाडी भू–भागमा साधरणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
राति कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू–भागमा साधरणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।