काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संविधानले केन्द्र, प्रदेश र स्थानीय तहलाई दिएको साझा अधिकार कार्यान्वयनमा स्पष्ट नीति आवश्यक रहेको बताएकी छन्।
आज (शुक्रबार) काठमाडौँमा आयोजित ‘गाउँ गाउँमा सिंहदरवार’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले साझा यस्तो बताएकी हुन् ।
यस्तै, मन्त्री न्यौपानेले संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधानका लागि अझै स्थानीय सरकारलाई थप शक्तिशाली र प्रभावकारी बनाउनुपर्ने बताइन्।
“हामीले संघर्ष गरेर तीन तहको सरकार ल्याउन सकेका छौँ। जनताले नजिकबाट सेवा प्रवाह लिन सकिने भनेको स्थानीय सरकारबाटै हो। संविधानले स्थानीय तहलाई धेरै अधिकार दिएको छ । केही एकल र केही साझा अधिकार दिएको छ । तर साझा अधिकार कार्यान्वयनको सन्दर्भमा अस्पष्ट छ। त्यसलाई कानुन बनाएर स्पष्ट बनाउनुपर्ने आवश्यकता छ”, उनले भनिन्, “स्थानीय तहलाई संविधानले जे अधिकार दिएको छ, स्थानीय सरकार सञ्चालन ऐनले पनि धेरै अधिकार दिएको छ । अब अधिकारलाई थप बलियो बनाउन जरुरी छ।”
गाउँ गाउँमा सिंहदरवार पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो बनाउन सहयोग गर्ने र यसलाई सशक्त बनाउन सबै जनप्रतिनिधिले ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो।