काठमाडौँ– आज (बिहीबार) राष्ट्रिय सभाअन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दैछन्।
जसअनु्सार, दिउँसो साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्य छलफललगायत विविध विषयमा छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ। बैठक सिंहदरबारस्थित समितिको हलमा बस्नेछ।
यस्तै, बैठकमा नेपाल कानुन समाजका अध्यक्ष तथा पूर्व उपसभामुख पुष्पा भुसाल (गौतम) र समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यलाई आमन्त्रण गरिएको छ।
यसैगरी, दिउँसो १ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आव २०८२–८३ को वार्षिक कार्य योजना र लुम्बिनी प्रदेशअन्तर्गत भएका अनुगमन एवम् अन्तरक्रियाको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यतालिका तय भएको छ।