काठमाडौँ– हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै महाशाखाका अनुसार, आज बागमती , गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेस र लुम्बिनी प्रदेशलगायत केही स्थानमा हुरी चल्ने सम्भावना छ।
त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत पहाडी भागमा साधारणतया बदली र बाँकी भागका केही स्थानमा आंशिक बदली हुनेछ। कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्व तयारी गर्न महाशाखाले अनुरोध गरेको छ ।