कोशी प्रदेशको थप एक जिल्लामा लम्पी स्किन फैलियो - Chaitanya News
  • 2026-05-02
  • 21:38:01
  • शनिबार,बैशाख १९, २०८३
  • कोशी प्रदेशको थप एक जिल्लामा लम्पी स्किन फैलियो

    कोशी प्रदेशको थप एक जिल्लामा लम्पी स्किन फैलियो

    काठमाडौँ– कोशी प्रदेशको थप एक जिल्लामा गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग फैलिएको छ।

    कोशी प्रदेशको ओखलढुंगा जिल्लामा पनि ७ वटा गाई गोरुमा लम्पी स्किन रोगको संक्रमण भेटिएपछि महामारी फैलिएको जिल्लाको संख्या १३ पुगेको हो।

    पछिल्लो तथ्यांक अनुसार कोशी प्रदेशमा २८ हजार २ सय ५९ वटा गाइगोरु र राँगा भैँसीमा लम्पी स्किन रोग पाइएकोमा ९ सय ८९ वटा पशु चौपाया मरेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ। लम्पी स्किन रोग विरुद्धको खोप लगाएका पशुचौपायाहरुमा यो रोगको प्रभाव कम देखिएको र मुख्यरुपमा लम्पी स्किन रोग लागेका बाछाबाच्छी र पाडापाडीहरु बढी मरेको पशु चिकित्सकहरुले बताएका छन्। पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले लम्पी स्किन रोग विरुद्धको खोप सम्बन्धित कृषि ज्ञान केन्द्र मार्फत पालिकाहरूलाई वितरण गरेको छ।

    कोशी प्रदेशमा ३ लाख ७२ हजार ८ सय ४ वटा पशुचौपायाहरुलाई खोप लगाइएकोमा २५ हजार ४ सय २४ वटा पशुचौपायाहरु निको भएको र १ हजार ८ सय ४६ वटा पशुचौपायाहरु संक्रमित रहेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा। गंगाराम यादवले जानकारी दिए।

    कोशी प्रदेशमा १३ लाख २४ हजार ४ सय २६ वटा गाइगोरु र ३ लाख ७४ हजार ५ सय ६७ वटा राँगाभैसी रहेको तथ्यांक छ। कोशी प्रदेशमा सबैभन्दा बढी झापा, त्यसपछि मोरङ, त्यसपछि इलाम, सुनसरी र उदयपुर जिल्लामा लम्पिस्किन रोगको संक्रमण देखिएको छ । लम्पी स्किन रोगको संक्रमण फैलिनबाट जोगाउन गोठहरु सरसफाइ गर्ने तथा पशु प्राविधिकहरूको सल्लाह मान्न कृषकहरूलाई पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले आग्रह गरेको छ।