काठमाडौँ– आज (सोमबार) दिउँसो सवा ३ बजे संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्ने तय भएको छ। बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने छन्।
यस्तै, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची छ । राष्ट्रिय सभाका सचिव डा। सुरेन्द्र अर्यालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने छन्।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक,२०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।