काठमाडौँ– आज (आइतबार) नेपाल राष्ट्र बैंकले आज आइतवार २१ दिनका लागि ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले २१ दिनका लागि ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको हो। निक्षेप संकलन उपकरण बोलकबोलमार्फत उठाइनेछ।
हाल कुल निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको अवस्थामा राष्ट्र बैंकले वित्तीय प्रणालीको अतिरिक्त तरलता नियन्त्रण र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तानेको हो।
बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यस क्रममा सहभागीहरूले प्रस्ताव गरेका ब्याजदरअनुसार सबैभन्दा कम दरलाई प्राथमिकता दिइनेछ र आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ।
अनलाइन खरिद प्रणालीमार्फत हुने बोलकबोलबाट ब्याजदर निर्धारण गरिनेछ। आज संकलित निक्षेपको सावाँ तथा ब्याज रकम २०८२ असोज ५ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम बोलकबोल गर्न सक्नेछन् भने कुल आह्वान रकमसम्म भाग जाने गरी प्रक्रिया सञ्चालन हुनेछ।
केन्द्रिय बैंकको खुला बजार कारोबार कार्यविधि अनुसार दीर्घकालीन प्रकृतिको अतिरिक्त तरलता देखिएमा बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले अधिकतम ६ महिनासम्मको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। सोही प्रावधानअन्तर्गत राष्ट्र बैंकले आवश्यकता अनुसार पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।
![]()