सुदूरपश्चिममा लगानी गर्न पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेको आग्रह - Chaitanya News
  • 2026-05-30
  • 13:39:51
  • शनिबार,जेठ १६, २०८३
  • सुदूरपश्चिममा लगानी गर्न पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेको आग्रह

    सुदूरपश्चिममा लगानी गर्न पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेको आग्रह

    काठमाडौँ– सुदूरपश्चिम पर्यटकीय दृष्टिकोणले ‘भर्जिन ल्याण्ड’ भएको उल्लेख गर्दै लगानी गर्न आह्वान गरिएको छ।

    सुदूरपश्चिम लगानी तथा विकास सम्मेलनको पूर्व सन्ध्यामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सुदूरपश्चिम सरकारसँगको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको पर्यटन क्षेत्रसम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले सुदूरपश्चिमको पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान गरेका हुन्।

    मन्त्री पाण्डेले भने, ‘सुदूरपश्चिम पर्यटक आकर्षणका मुख्य आधार नेचर, कल्चर र एड्‌भेन्चरको सम्मिश्रण भएको प्रदेश हो। सुदूरपश्चिमका थुप्रै पर्यटकीय सम्भावनाहरू उजागर भइरहेका छन्। यस लगानी सम्मेलनमार्फत सुदूरपश्चिमका पर्यटकीय पूर्वाधारमा लगानी गर्न लगानीकर्ताहरूलाई आह्वान पनि गर्दछु।’

    मन्त्री पाण्डेले लगानी सम्मेलनको सम्पूर्ण आयामहरू मार्फत पूर्ण तयारीमा उल्लेख गर्दै यसका लागि निजी क्षेत्रलाई विश्वासमा लिने र लगानीको वातावरण सिर्जना गर्न कानुनी उल्झन समाधान गर्ने र लगानीमैत्री नीति बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए।

    सुदूरपश्चिमको पर्यटन विकासका लागि सुदूरपश्चिममा नेपाल पर्यटन बोर्डको कार्यालय यही वर्ष स्थापना गर्न बजेट विनियोजन गरिएको पनि मन्त्री पाण्डेले जानकारी गराए।

    त्यसैगरी सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम सरकार निजी क्षेत्रलाई लगानीका लागि स्वागत गर्न आतुर रहेको उल्लेख गरे।

    उनले भने, ‘हामी सुदूरपश्चिमका सम्भावनाहरूलाई लगानी सम्मेलनमार्फत राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनाउन चाहन्छौँ। यसका लागि स्वदेशका निजी क्षेत्रलाई लगानीका लागि आवश्यक कानुनी तथा लगानी सुरक्षाको ग्यारेन्टी हामी लिन तयार छौँ।’

    मुख्यमन्त्री शाहले लगानी सम्मेलनमा सहभागी हुन र त्यहाँका सम्भावनाको अध्ययन गर्दै लगानी गर्न आह्वान गरेका हुन्।

    सुदूरपश्चिममा आगामी मङ्सिर १ र २ गते धनगढीमा लगानी सम्मेलन आयोजना हुने भएको छ। यसै सन्दर्भमा विभिन्न विधामा लगानीका लागि सुदूरपश्चिम सरकार काठमाडौंमा आएर विभिन्न निकायसँग छलफल गरिरहेको छ।