धनगढी- कैलालीको धनगढीमा बिहीबार पत्रकार सम्मेलनमार्फत ‘समृद्ध राष्ट्र निर्माणका लागि सङ्कल्प अभियान’ औपचारिक रूपमा घोषणा गरिएको छ । कैलालीको गोदावरीका प्रेम भट्टको संयोजकत्वमा गठन गरिएको समितिले उक्त अभियानको घोषणा गर्दै विखण्डित वैकल्पिक शक्तिलाई एउटै मञ्चमा ल्याउने, नयाँ पुस्तालाई नेतृत्वमा अघि सार्ने र आम नागरिकलाई स्वतन्त्र बन्न प्रेरित गर्ने उद्देश्य रहेको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संयोजक भट्टले अभियान अन्तर्गत ‘महाकाली–मेचीको यात्रा–२०८२’ प्रारम्भ गर्ने जानकारी दिए । उनका अनुसार यात्रा भाद्र १७ गते कञ्चनपुरको गड्डाचौकीबाट धनगढी उप–महानगर पालिकाका स्वतन्त्र मेयर गोपाल हमालको प्रमुख आतिथ्यतामा सुरु हुनेछ । विभिन्न स्थानमा कोष–सभा गर्दै यात्रा २० गते मेची पुग्ने र २१ गते धरानमा पुगेर हर्क साम्पाङ मार्फत समापन गरिनेछ ।
भट्टले आम नागरिकलाई “पार्टीको होइन, देशको झन्डा” बोकेर अघि बढ्नुपर्ने समय आएको भन्दै यो अभियान त्यसैको सन्देश दिन सुरु गरिएको बताए । उनले दशकौँ सत्तामा रहे पनि नेताहरूले अपेक्षित उपलब्धि नदिँदा जनता निराश बनेको र मुलुक असफलतापूर्ण अवस्थामा पुगेको आरोप लगाउँदै अब नयाँ सोच, स्पष्ट कार्य योजना र वैकल्पिक नेतृत्वको आवश्यकता रहेको धारणा राखे ।
उनका अनुसार नयाँ विकल्पमार्फत श्रम, सृजनशीलता र संस्कारलाई प्राथमिकता दिँदै आयात–निर्भर नभई उत्पादन–आधारित अर्थतन्त्र निर्माण, कृषि, उद्योग, पर्यटन र प्रविधि क्षेत्रमा रोजगारी सिर्जना, सुशासन र शून्य सहनशीलता भ्रष्टाचार, महिला, दलित, सीमान्तकृत तथा प्रवासी नेपालीको अधिकार सुनिश्चित, मौलिक संस्कृति संरक्षण तथा छिमेकीसँग समान सम्मानमा अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत पार्ने जस्ता एजेन्डामा अभियान केन्द्रित हुनेछ ।
उक्त घोषणामा ‘जय गोदावरी’ अभियान सञ्चालन गर्दै आएका युवा तथा हालै नेपाली काँग्रेस परित्याग गरेका गोदावरीका युवा नेता गणेश शाहलगायतको उपस्थिति रहेको थियो । संयोजक प्रेम भट्ट स्वयं पनि केही महिना अघि नेपाली काँग्रेस कैलालीको जिल्ला सदस्य एवं प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिँदै वैकल्पिक अभियानमा होमिएका युवा नेता हुन् ।