राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक - Chaitanya News
  • 2026-11-11
  • 01:39:29
  • मंगलबार,कार्तिक २५, २०८३
  • राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक

    राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक

    काठमाडौँ– प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ। जस अन्तर्गत भोलि मनोनयन र पर्सी निर्वाचन गर्ने तय भएको छ।

    राज्य व्यवस्था समितिका सचिव कान्छा दुलालका अनुसार भोलि दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्ने, सवा ४ बजे उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ।

    पर्सी दिउँसो ३ बजे राज्य व्यवस्था समितिको बैठक बस्नेछ। जहाँ सभापतिको निर्वाचन हुनेछ। एक जनाको मात्रै उम्मेदवारी परे सर्वसम्मत हुनेछ। यदि दुई जनाको उम्मेदवारी परे निर्वाचन हुनेछ।

    सत्तापक्षले काँग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भएका छन्। प्रतिपक्षले उम्मेदवार दिने कि नदिने तय भएको छैन।

    २७ सदस्यीय समितिमा नेपाली काँग्रेसका ९ जना छन्। नेकपा एमालेका ६ जना छन्। एमाले र कांग्रेस मिल्दा मात्रै समितिमा दुई दलको सांसद संख्या १५ पुग्छ। यो सभापति निर्वाचनका लागि बहुमत हो।

    यसबाहेक समितिका सत्तापक्षकै लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालका सर्वेन्द्रनाथ सुक्ला र जनमत पार्टीकी अनिता देवी र जनता समाजवादी पार्टी (जसपा) का अशोककुमार राई सदस्य छन्। यो ३ थपिँदा समितिमा सत्तापक्षको संख्या १८ पुग्छ।

    राज्य व्यवस्था समितिमा काँग्रेसबाट सांसदहरू अम्बिका बस्नेत, गगनकुमार थापा, दिलेन्द्रप्रसाद बडू, विश्वप्रकाश शर्मा, सरिता प्रसाईँ, हृदयराम थानी, पूर्णबहादुर खड्का, ईश्वरीदेवी न्यौपाने र रामहरि खतिवडा सदस्य रहेका छन्।

    एमालेका कृष्णगोपाल श्रेष्ठ, मेनका कुमारी पोख्रेल, बासुदेव घिमिरे, लीलानाथ श्रेष्ठ, राजेन्द्रकुमार राई र पदम गिरी पनि यही समितिको सदस्य छन्।

    यसबाहेक राज्य व्यवस्था समितिमा माओवादी केन्द्रका हितराज पाण्डे, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दुर्गा राई सदस्य छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चन्दा कार्की ((भण्डारी), रवि लामिछाने (निलम्बित) सदस्य छन्।

    राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे, जनता समाजवादी पार्टी नेपालका प्रकाश अधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का बुद्धिमान तामाङ सदस्य रहेका छन्। यसरी विपक्षमा रहेका दलका सांसदहरूको संख्या ९ मात्रै छ।