काठमाडौँ– आर्थिक वर्ष २०८१–८२ मा देशको चालु खाता रु.४ खर्ब ९ अर्ब २० करोडले बचतमा रहेको छ।आज (आइतबार ) नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै बैंकले यसबारे जानकारी गराएको हो।
अघिल्लो वर्ष चालु खाता रु।२ खर्ब २१ अर्ब ७१ करोडले बचतमा रहेको थियो। यसआधारमा चालु खाता बचतमा सुधार देखिएको छ। यस्तै अमेरिकी डलरमा अघिल्लो वर्षमा १ अर्ब ६७ करोडले बचतमा रहेको चालु खाता समीक्षा वर्षमा ३ अर्ब १ करोडले बचतमा रहेको बैंकले जनाएको छ।
यस्तै समीक्षा वर्षमा खुद पुँजीगत ट्रान्सफर रु.९ अर्ब ८४ करोड रहेको छ। अघिल्लो वर्षमा यस्तो ट्रान्सफर रु.५ अर्ब ८१ करोड रहेको थियो। यसैगरी, समीक्षा वर्षमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.१२ अर्ब २ करोड भित्रिएको छ। अघिल्लो वर्ष यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.८ अर्ब ४७ करोड रहेको थियो।
समीक्षा वर्षमा शोधनान्तर स्थिति रु.५९४ अर्ब ५४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.५०२ अर्ब ४९ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष ३ अर्ब ७७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ४ अर्ब ३७ करोडले बचतमा रहेको बैंकले जनाएको छ।