भियतनामकी उपराष्ट्रपति आनलगायत प्रतिनिधिमण्डलको द्विपक्षीय बैठक सुरु - Chaitanya News
  • 2026-11-11
  • 06:57:39
  • बुधबार,कार्तिक २६, २०८३
  • भियतनामकी उपराष्ट्रपति आनलगायत प्रतिनिधिमण्डलको द्विपक्षीय बैठक सुरु

    भियतनामकी उपराष्ट्रपति आनलगायत प्रतिनिधिमण्डलको द्विपक्षीय बैठक सुरु

    काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल भ्रमण आएकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनलगायत प्रतिनिधिमण्डलको द्विपक्षीय बैठक काठमाडौँमा सुरु भएको छ।

    हिजो (शनिबार) काठमाडौँ आएकी सुआनले आज (बिहान) उपराष्ट्रपति यादवसँग भेटवार्ता गरे लगत्तै द्विपक्षीय बैठक सुरु भएको हो।

    नेपाल (भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा सुआन नेपाल भ्रमणमा आएकी हुन्।

    शनिबार नेपाल आएकै दिन उनले परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन्। मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान गर्न प्रस्ताव राखेकी थिइन्। यसो हुन सके भियतनामबाट नेपाल भित्रिने पर्यटकहरूको संख्या बढाउन सकिने नेपालको विश्वास छ। द्विपक्षीय बैठकमा यस विषयमा पनि छलफल हुनेछ।

    उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। सो भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

    उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने र पाटन दरबार स्क्वायर, स्वयंभूनाथ स्तूप लगायतका स्थान भ्रमण गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि उनी स्वदेश फर्किनेछिन्। यो नेपालमा भियतनामका तर्फबाट पहिलो उच्चस्तरीय भ्रमण हो।