काठमाडौँ– सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगन थापाले लिपुलेकबारे भारत र चीनबीच भएको सहमतिप्रति असहमति जनाएका छन्।
आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री थापाले दुई छिमेकी देशबीच भएको यो सहमति आपत्तिजनक र अस्वीकार्य भएको बताए।
उनले भने, ‘सरकारले यसबारे जुन कदम अघि बढाएको छ। सबैलाई समेटेर अघि बढाओस्। हामी आग्रह पनि गर्न चाहन्छौँ। हाम्रै पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले ६ बुँदे ध्यानाकर्षण गराउनुभएको छ। त्यसतर्फ सरकारको ध्यान जाओस्।’
उनले यो विषयमा नेपालका सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए। मतभेद भुलेर सबै राजनीतिक दलहरूले एक ढिक्का भएर नेपाली भूमिका अरूको आँखा पर्न दिने छैन भन्ने सन्देश दिनुपर्ने पनि थापाको भनाइ छ।