काठमाडौँ– वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्षको पहिलो महिना ६८ हजार ११० जनालाई श्रम स्वीकृति प्रदान गरेको छ । साउन महिनामा विदेश जान चाहने ६८ हजारभन्दा बढी नेपालीले श्रम स्वीकृति पाएका छन्।
व्यक्तिगत तवरबाट ८ हजार ५४७ पुरुष र ३ हजार २२५ जना महिला गरी कुल ११ हजार ७७२ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ। यस्तै मेनपावरमार्फत पुरुष २९ हजार १३० र महिला २ हजार ७०० गरी कुल ३१ हजार ८३० जनाले श्रम स्वीकृति लिएका छन्।
यसैगरी पुनः श्रम स्वीकृतिमार्फत पुरुष २० हजार ५४७ र महिला ३ हजार ९७ गरी कुल २३ हजार ६४४ जनाले तथा जीटुजीमार्फत पुरुष ७२४ र महिला १४० गरी कुल ८६४ जनाले श्रम स्वीकृति लिएका छन्। विभागका अनुसार कुल ६८ हजार ११० जनाले श्रम स्वीकृति लिँदा महिला ९ हजार १६२ जना रहेका छन् भने पुरुष ५८ हजार ९४८ जना रहेका छन्।
गत आर्थिक वर्षको साउन महिनाको तुलनामा श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको तथ्यांकले देखाएको छ। विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा पुरुष ५१ हजार ४३० र महिला ८ हजार १४५ जना गरी कुल ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए।
विभागका अनुसार साउन महिनामा मात्रै वैदेशिक रोजगारीमा ठगीसम्बन्धी ५८० वटा उजुरी परेको छ। जसमा ७४ वटा उजुरी मिलापत्र गराइएको छ भने २६ वटाचाहिँ अदालतमा पुगेको छ।
९८ जना विदेशीले श्रम स्वीकृति:
यसैगरी नेपालमा काम गर्नका लागि चालु आर्थिक वर्षको पहिलो महिनामा ९८ जना विदेशीले समेत श्रम स्वीकृति लिएका छन्। यस्तै नेपालमै काम गरिरहेका थप ९४ जना विदेशीले श्रम स्वीकृति नवीकरण पनि गराएका छन्। गत आर्थिक वर्षमा यस्तो श्रम स्वीकृति ८९२ जनाले लिएका थिए भने श्रम स्वीकृति नवीकरण गराउनेको सङ्ख्या १ हजार ६६७ जना रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।
यसैबिच गत आर्थिक वर्ष विदेशमा मृत्यु भएका ४८१ जनाको शव नेपाल झिकाइएको थियो। यस्तै साउन महिनामात्रै ३९ जनाको शव झिकाइएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ।